बुटवल,२४ फागुन ।
पाल्पाको सिद्धबाबा मन्दिरमा महा शिवरात्री मेलाको तयारी अन्तिम चरणमा पुगेको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।

बिहीबार मन्दिर परिसरमा पत्रकारहरूसँग कुरा गर्दै समितिका पदाधिकारीहरूले मेलाको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

भक्तजनलाई सहज रूपमा पुजा गर्न टोकनको व्यवस्था गरिएकाे समितिले जनाएको छ ।

महाशिवरात्रीको अवसरमा शुक्रबार सिद्वबाबा मन्दिरमा शिव पूजन, रुद्राभिषेक पूजा, अखण्ड हरिकीर्तनको आयोजना गर्नुका साथै विगत वर्षहरुमा जस्तो पूजाका लागि लाइन लाग्न नपर्नेगरी टोकनको व्यवस्था गरिएको समितिका अध्यक्ष सन्तोष कुमार शेरचनले जानकारी दिए ।

भक्तजनहरूलाई बुटवलबाट मन्दिरसम्म जान र फर्किनका लागि मन्दिरको निःशुल्क बस बाहेक थप ५ वटा बसको व्यवसथापन गरिएको उनले बताए । बुटवलको योगीकुटी, राजमार्ग चौराह, मिलनचोक, ट्राफिक चोक, गोलपार्क तथा पाल्पाको झुम्सामा बसको व्यवस्था गरी दिनभर यातायात उपलब्ध गराउने उनले बताए । सिद्धबाबा मन्दीरले नियमित सञ्चालन गर्दै आएको बाहेक अन्य बसमा उक्त दिन न्युनतम शुल्क २५ रुपैयाँ भाडादर निर्धारण गरिएको समितिले जनाएको छ ।

महाशिवरात्रीका दिन शुक्रबार विहान साढे ३ बजेदेखि पूजापाठका लागि मन्दिरको मूल गेट खुला गरिने बताउँदै मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष अम्मर प्रधानले ४० हजार बढी भक्तजनले दर्शन गर्ने अपेक्षा गरिएको अध्यक्ष शेरचनले बताए ।

त्यस्तै महाशिवरात्रीका दिन भक्तजनका लागि प्रशाद वितरण, निशुल्क भोजन लगायतका लागि भण्डारा सञ्चालन गरिने बताए ।

मन्दिरमा वार्षिक करिब डेढ करोड आम्दानी हुने गरेको समितिले जनाएको छ ।

महाशिवरात्री मेलाको तयारी बारे जानकारी गराउन समितिले बिहीबार बिहान आफू निकटका पत्रकारहरूलाई मन्दिरमा डाकेको थियो ।