सुर्खेत,२४ फागुन ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एकीकृत समाजवादीबाट मन्त्री बनेका नरेश शाहीलाई बर्खास्त गरेका छन् ।
मुख्यमन्त्री शाहले माओवादीपछि एकीकृत समाजवादीबाट मन्त्री बनेका शाहीलाई पनि बर्खास्त गरेका हुन् ।
एमाले नेतृत्वमा बनेको नयाँ गठबन्धन सरकारमा नेकपा एकीकृत समाजवादी सामेल भएपछि प्रदेश सरकारबाट मुख्यमन्त्री शाहले उनलाई हटाएका हुन् । शाही सुदूरपश्चिम प्रदेश सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री थिए ।
यसअघि मुख्यमन्त्री शाहले माओवादीबाट सामाजिक विकासमन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र सोही मन्त्रालयकी राज्यमन्त्री गीता माललाई हटाएका थिए ।
योसँगै कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकार संकटमा पर्ने छ। ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छन् । अहिले कांग्रेससंग १८ सांसद छन् । सुदूरपश्चिममा अहिले निर्णायक शक्ति रहेको नागरिक उन्मुक्तिले नयाँ गठबन्धनमा जाने नजाने निष्कर्षमा पुगिसकेको छैन ।









