बुटवल,२२ फागुन ।
राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव टाेप अस्लामीले नयाँ सत्ता समिकरणलाई राजनीतिक बेइमानीको अर्को प्रकरणकाे रूपमा टिप्पणी गरेका छन् ।

एउटा सत्ता गठबन्धन ताेडेर रातारात अर्को गठबन्धन गर्ने संस्कृति प्रति टिप्पणी गर्दै महासचिव अस्लामीले उक्त कार्यलाई राजनीतिक बेइमानीको अर्को प्रकरणकाे संज्ञा दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव अस्लामीले राष्ट्रिय आवश्यक्तालाई आवरणमा मात्र कायम गर्दै सत्ता लिप्सामा केन्द्रित यस्ता राजनीतिक प्रकरण “राजनीतिक बेइमानीको ढाकछोप” मात्रै भएको उल्लेख गरेका छन् ।

२०८० फागुन २१ गते घटित राजनीतिक घटनाक्रमले नेपालको राजनीतिक इतिहासमा “राजनैतिक नैतिकता” अझै कमजोर पारिएको र “राजनैतिक बेईमानी”लाई झनै मलजल गरिएको भन्दै उनलेे भनेका छन्- “प्रधानमन्त्री ज्यूले “आफू बाँचुन्जेल देशमा उथलपुथल भइरहने” भन्ने अभिव्यक्ति दिनुले अगाडिको दिनको राम्रो संकेत मिल्दैन । किनभने “घेराबन्दी” कै कुरा गर्दा अहिलेको गठबन्धनमा पनि प्रचण्डज्यू फुक्काफाल हुनुहुन्न र हुन पनि मिल्दैन ।”

आफ्नाे नेतृत्वको गठबन्धन सरकार बारे केही पनि सन्देश प्रवाह नगरी वा देश र जनताप्रति कुनै जवाफदेहिता प्रकट नगरी एकाएक यही मिति २०८० फागुन २१ गते नयाँ गठबन्धनको जानकारी (समाचार मार्फत्) र पछि ८ बुँदे सहमतिको जानकारी (नयाँ तीन सदस्यीय मन्त्रीमण्डलको घोषणा पश्चात्) सार्वजनिक हुनुले नेपालको राजनीतिमा थप धेरै कुरा अन्योलपूर्ण हुने देखिएको उनको भनाइ छ ।

नेपाली कांग्रेस, नेकपा (एमाओवादी) केन्द्र, नेकपा (एस), जसपा नेपाल,राष्ट्रिय जनमोर्चाको प्रतिनिधिहरू सम्मिलित गठबन्धन (प्रचण्ड नेतृत्वको) सरकारले आलोपालो नै सही, ५ वर्षकै लागि स्थिर सरकार दिने भनेर नै स्थानीय – प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन (मंसिर ४, २०८०) अगावै लिखित समझदारी गरी जनअभिमत मागेको स्मरण गर्दै महासचिव अस्लामीले भनेका छन्- “यस्तो खालको सरकारलाई स्वीकार्न सम्बन्धित दलकै कार्यकर्ता एवम् जनता समेतलाई बाध्यकारी स्थिति भए पनि आम निर्वाचनपछि पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” बन्ने समझदारीमा शेर बहादुर देउवाले भाँजो हाल्ने स्थिति आएपछि नेकपा (एमाले) को मुख्य समर्थनमा पुष्पकमल दाहाल “प्रचण्ड” प्रधानमन्त्री हुनु भयो । उहाँको नेतृत्वको सरकारले संसद्को विश्वासको मत लिँदा नेपाली काँग्रेसको पनि समर्थन पाएपछि झण्डै १०० प्रतिशत समर्थन प्राप्त गरेको हो । तर तत्कालिन अवस्थामा सरकारमा सम्मिलित एमाले, रास्वापा र राप्रपा पछि मात्र सरकार छोडी प्रतिपक्ष भएका हुन् खासगरी नेपाली कांग्रेसलाई राष्ट्रपति बनाउने कुरामा प्रचण्डको अडानका कारण ।”

त्यस्तै एमाले, रास्वापा र राप्रपाले सरकार छाडेपछि मुख्यतः मंसिर ४ अगाडि देखिकै गठबन्धनको यो सरकार आफ्नै रिपोर्ट कार्डमा फेल (असफल) थियो । काम गर्न खोजे झैं गर्ने त्यसपछि लथालिङ्ग छोड्ने (झनै अराजकता फैलाउने) सवालमा थप संस्कार कायम गरेको पनि ताजै छ जसलाई इतिहास र भविष्य दुवैले अवश्य कसी लगाउने नै छ । २०८० पुष १० गते १ वर्ष पूरा गरीरहँदा प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्दै अगाडिको वर्षमा राम्रो काम गर्ने प्रतिबद्धता गरेकै हो ।”-उनलेे लेखेका छन् ।

शंकाको लाभको सन्दर्भ जहिले रहने भन्दै उनलेे एमाले – एमाओवादी गठबन्धनको रवैयाका कारण देशले ठूलो क्षति व्यहोरी सकेको जनाएका छन् ।