चितवन,२२ फागुन ।
बसको ठक्करबाट चितवनको भरतपुरमा एक बालकको मृत्यु भएको छ । नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना४ख ५८१५ नम्बरको बसले नौ वर्षीय आरुष पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
गएराति भरतपुर महानगरपालिका–७ स्थित माछापुच्छ्रे चोक नजिकै ‘जेब्रा क्रसिङ’मा हिँडिरहेका बेला बालक पौडेललाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।
घटनामा बसमा सवार भरतपुर–७ बस्ने २१ वर्षीया कोपिला राई पनि घाइते भएका छन् ।
बस चालक माडी नगरपालिका–८ बस्ने विकास सार्कीलाई सीताराम चोक पुगेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।






