काठमाडौं,२१ फागुन ।
संसद बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको छ । नयाँ सत्ता समीकरणको रस्साकस्सीले आजको प्रतिनिधि सभा बैठक प्रभावित भएको हो ।

संसद सचिवालयले सूचना जारी गरी विशेष कारणबस फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको जनाएको हो ।

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले सरकारमा रहेका सबै मन्त्री हटाएर एमालेसहितको सानो आकारको नयाँ मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेपछि सभामुख देवराज घिमिरे बैठक के गर्ने भनेर आन्तरिक परामर्श गरेका थिए ।

प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामा छलफल सुरु गर्ने तयारी थियो ।