बुटवल,७ फागुन ।
बुटवल उपमहानगरपालिका वडा नं १६ स्थित नरैनापुर आधारभूत विद्यालयको ५६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउन सुरु भएको छ । विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाउन सुरु गरेको हो ।

बुटवल उमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मित्रमणी खनालको प्रमुख आतिथ्यतामा सोमबार वार्षिकोत्सवकोे उद्घाटन गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा बोल्दै उनले बुटवलमा रहेका ३९ वटा सामुदायिक विद्यालय मध्ये नरैनापुर आधारभूत विद्यालय पनि अब्बल सावित हुँदै गएको दाबी गरे ।

पछिल्ला शैक्षिक सत्रहरुमा नरैनापुर विद्यालयमा शिक्षाको गुणस्तर सुधार हुँदै जाँदा विद्यार्थीको आकृषण बढ्दै गएको र उपमहानगपालिकाले स्थापना दिवसमा सम्मान गरेको उनले बताए । विद्यार्थीलाई अंग्रेजी र कम्प्युटरमा दक्ष बनाउन अहिलेको आवश्यकता रहेको बताउँदै खनालले उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा विज्ञानप्रविधिलाई जोड दिँदै आएको बताए ।

विद्यालयका प्रधानध्यापक अम्बिका अर्याल भण्डारीले विद्यालयको वार्षिक प्रतिवदेन प्रस्तुत गर्दै बालकक्षादेखि ८ कक्षासम्म पढाई हुने विद्यालयमा अहिले १५८ विद्यार्थी अध्ययनरत रहेको र प्रत्येक शैक्षिक शत्रमा विद्यार्थी भर्नामा बृद्धि हुँदै आएको जानकारी दिए । आगामी शैक्षिक सत्रमा २५५ विद्यार्थी भर्ना गर्ने लक्ष्य लिएको र सोही अनुसारको अंग्रेजी र कम्प्युटर माध्यमबाट पठनपाठन गरिदै आएको भण्डारीले बताईन ।

विद्यालयले सरकार,अभिभावक,चन्दा दाताहरुको सहयोगमा अहिले कक्षा ८ सम्मनै दिवा खाजा सञ्चालन गरेकाले विद्यार्थीको आकृषण बढ्दै गएको प्रधानध्यापक भण्डारीले जानकारी दिईन ।

विद्यालय ब्यस्थापन समितिका अध्यक्ष चुडामणी पौडेलको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा बुटवल वडा नं. १६ का वडा अध्यक्ष कृष्ण प्रसाद पौडेल, पुर्वअध्यक्ष रामप्रसाद रेग्मी,जग्गा दाता प्रबलमान श्रेष्ठ ,पुर्व प्रधानध्यापक विरबर प्रसाद चौधरी ,साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष गोपाल पौडेल,समाजसेवी भवानीप्रसाद पौडेल, विद्यार्थी सुलभ खड्का, शिक्षक प्रदीप परियार लगायतले बोलेका थिए ।

वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले विभिन्न लोकनृत्य प्रस्तुत गरेका थिए ।