नवलपरासी,२४ माघ ।
अखिल (क्रान्तिकारी) नवलपरासीले मिसन एभ्रिडे अन्तरगत बिद्यालय निरीक्षण शुरु गरेको जनाएको छ ।

मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी)ले संसदीय दलहरुले ल्याएको मिसन–८४ होइन् जनतालाई हरेक दिन कठिनाई रहेको भन्दै त्यसको बिकल्पमा देशैभर ‘मिसन एभ्रिडे’ शुरु गरेको अखिल क्रान्तिकारीले जनाएको छ ।

दलाल ब्यवस्थाका पक्षधरहरुले जनतालाई झुक्याउन मिसन–८४ को चुनावी नारा दिएको भन्दै क्रान्तिकारीले ‘मिसन एभ्रिडे’ संचालन गरिरेहको बताएको छ ।

यस अभियान अन्तरगत बिद्यालयमा बिभिन्न रचनात्मक कार्यक्रम, भेटघाट, सरसफाई, गोष्ठीका कार्यक्रमहरु एंव शैक्षिक समस्याहरुको निरीक्षणहरु तथा समाधानका उपायबारे सरोकारवालाहरुलाई दबाब दिने,बिद्यालयमा हुने शैक्षिक बिकृति बिरुद्ध संर्घष उठान गर्ने,भष्ट्राचार बिरोधी जनमत तयार गर्नेलगायतका कामहरु संचालन भइरहेको क्रान्तिकारीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटाले जानकारी दिए ।

अभियान अन्तरगत बुधवार क्रान्तिकारीले बर्दघाट–१४ गंगाबस्ती स्थित गंगा माविको निरीक्षण गरेको सापकोटाले बताए । चिसो मौसमका बिना झ्यालको कोठामा अध्ययन गरिरहेका बिद्यार्थीलाई भेटघाट तथा सरोकारवालाहरु संग आवश्यक छलफल समेत गरेको सापकोटाले बताए । सो अवसरमा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शोभाकर भुसाल, प्रधानाध्यापक भुपेन्द्र रिजालसंग जानकारी लिने काम भएको उनको भनाई छ ।

अभियानकै क्रममा क्रान्तिकारीले गंगा माविको समस्याको बिषयमा बर्दघाट नगरपालिका– १४ का वडाध्यक्ष तथा नगर प्रबक्ता सन्त बहादुर गाहाको ध्यानाकर्षण गराएको अखिल (क्रान्तिकारी) ले जनाएको छ ।