बुटवल,१४ माघ ।
शीतलहरसँगै बढेको जाडोबाट कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ ।
लगातारको बाक्लो हुस्सु र कुहिरोका कारण घाम झुल्किन नसकेपछि बढेको चिसोले जनजीवन कष्टकर बनेको हो । चिसोबाट वृद्धवृद्धा, स्कुले बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने बढी प्रभावित भएका छन् ।
यतिबेला तराईका कैलाली, कञ्चनपुर जिल्ला कुहिरो र हुस्सुले ढाकिएका छन् । जाडो बढेपछि धनगढीबाट झण्डै ३५ किलोमिटर उत्तरतर्फ चुरे पहाडी क्षेत्रका डाँडामा लागेको घाम ताप्न तराईतिरबाट सर्वसाधारण पुग्न थालेका छन् ।
घाम झुल्किन नपाउँदा महिना दिनदेखि घरमा धोएको लुगा सुकाउन पनि समस्या भएको स्थानीयले बताएका छन् ।
हिँउदेयाममा निरन्तरको शीतलहरसँगै देखिने डढुवा रोगले तराईका कैलालीसहितका जिल्लामा आलु, गोलभेँडा लगाएको तरकारी बालीमा प्रतिकूल असर पुर्याउने गरेको छ ।
पश्चिम तराईका बाँके र बर्दियामा पनि शीतलहर चलेको छ । मध्यदिउँसो मात्रै घाम झुल्किन थालेपछि स्थानीय किसान-मजदुर प्रभावित भएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै केही दिन तराईंमा हुस्सु र कुहिरो कायमै रहनेछ ।









