बुटवल,९ माघ ।
रुपन्देहीको देवदह १० चरंगेमा रहेको सिता माविले विद्यालयको बस खरिदको लागि छुट्याएको रकम अन्यत्र खर्च नगरिएको दाबी गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका देबदह नगरपालिका वडा नं १० का वडाध्यक्ष एकबहादुर सुनारले बस खरिदको लागि विनियोजित रकम बैंकको खातामै रहेको जानकारी गराएका हुन् । बस किन्न छुट्याएकाे रकम हिनामिना गरेको भनि केही सञ्चार माध्यममा प्रकासित समाचारमा सत्यता नभएको उनको दाबी छ ।
विद्यालयले मंगलबार पत्रकार सम्मेलन गरि उक्त कुराकाे जानकारी गराएको हो ।
अध्यक्ष सुनारले रकम हिनामिना बारे आँफूसँग कुनै प्रतिक्रिया समेत नलिई एक पक्षिय र पूर्वाग्राही ढंगबाट समाचार आएको बताए ।
बस खरिदका लागि छुट्याइएको रकम अपुग भएकोले बस खरिद गर्न नसकिएको भन्दै उनलेे साे रकम विद्यालयकाे खातामै रहेको दाबी गरे । अडिट रिपोटले हिसाब किताव मिलान भएको नदेखिएकोले पूर्व प्रधानाध्यापक र पूर्व लेखापाललाई स्पष्टीकरण सोधेको बताउदै वडाध्यक्ष सुनारले बिगतमा अपारदर्शी रहेको हिसाबकिताब आफुले पारदर्शी गर्न खाेज्दा उल्दै रकम हिनामिना गरेको झुटाे आराेप लगाइएको बताए ।
विद्यालय व्यवस्थापन समिति गठन नहुँदा आफू पदेन सदस्य मात्र भएकाले त्यसबेला तत्कालिन प्रअ र लेखापालले गर्ने निर्णयमा आँफूले केही गर्न सक्ने अवस्था नभएको उनको भनाइ छ । व्यवस्थापन समिति पूर्ण भएपछि हिसाब किताब खोजि गरेको उनलेे बताए ।
उता बिद्यालयका पुर्व प्रअ महेश थैवले पनि विद्यालयकाे रकम हिनामिना पारिएको भन्ने कुरा सरासर गलत भएको बताए ।अनावश्यक बिवाद गर्ने तत्वहरुका कारण बिद्यालयमा हुदै नभएको कुरा बाहिर आएको उनको भनाइ थियो ।
उनलेे बिद्यालयको बस खरिद गर्ने रकम हिनामिना भएको नभै बैंकको खातामै सुरक्षित रहेको प्रष्ट पार्दै अन्य श्रोत चन्दा सहयोगबाट उठेको रकम बिद्यालयको भौतिक बिकास निर्माण कार्यमा खर्च गरिएको बताए ।






