बुटवल,७ माघ ।
बुटवल उपमहानगरपालिकाले दिएको जाडो बिदा यहाँका निजी विद्यालयहरूले अवज्ञा गरेका छन् ।

केही दिन यता चिसो बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाले आइतबारदेखि तीनदिन विद्यालयहरुमा जाडो विदा दिएको थियो ।
चिसोका कारण बालबालिकाकाे स्वास्थ्यमा समस्या पर्न सक्ने कुरालाई मध्यनजर गरेर उपमहानगरपालिकाले आज माघ ७ देखि ९ गतेसम्म ३ दिन विद्यालयहरुमा जाडो विदा दिए पनि यहाँका अधिकांश निजी विद्यालयहरूले त्यसको अवज्ञा गर्दै विद्यालय सञ्चालन गरेका हुन् ।

उपमहानगरपालिकाकाे निर्णय पुर्ण रूपमा अवज्ञा गर्नेमा एभरेस्ट बाेर्डिङ स्कुल रहेको छ ।
उसले पुर्ववत रूपमा विद्यालय सञ्चालन गरेको थियो भने केही निजी विद्यालयहरूले आंशिक रूपमा कक्षा सञ्चालन गरेका छन् ।
बुटवलको पुरानो र ठूलो निजी विद्यालयकाे रूपमा परिचित न्यु हाेराइजन बाेर्डिङ स्कुल पुर्ण रूपमा बन्द रहेको थियो भने बुटवलकाे दिप बाेर्डिङ स्कुल,अकसफाेर्ड मावि,क्यनन मावि,गार्गी एकेडेमी आंशिक रूपमा पठनपाठन भएको थियो ।
दिप बाेर्डिङ स्कुलले कक्षा ८ देखि १२ कक्षा सञ्चालन गरेको थियो भने अक्सफोर्ड र क्यानन स्कुलले कक्षा ८ र १० का विद्यार्थीहरूलाई पठनपाठन गराएको थियो ।
बुटवलकै अर्को निजी विद्यालय अन्नपूर्ण स्कुल भने पुर्ण रूपमा बन्द थियो भने गार्गी एकेडेमीले आज विद्यार्थीकाे नतिजा प्रकाशन गर्ने दिन परेकाले विद्यालय खाेलेकाे तर भाेलिदेखि बन्द गर्ने जनाएको छ ।
एभरेस्ट बाेर्डिङ स्कुलका प्राचार्य कृष्णप्रसाद न्याैपानेले भने विद्यार्थीहरूकाे परिक्षा भएकोले विद्यालय सञ्चालन गरिएको प्रतिक्रिया दिए ।
उनलेे प्याब्सनसँग सल्लाह गरेर विद्यालय सञ्चालन गरिएको दाबी गरे ।
यद्यपि प्याब्सन बुटवलले भने उपमहानगरपालिकाकाे निर्णय कार्यान्वयन गर्न तीन दिन विद्यालय बन्द गर्ने सुचना जारी गरिएको जनाएको छ ।
सरकारी विद्यालयसँग सम्बन्धित संघ संगठनहरूसँगकाे बैठकले तीन दिन जाडो बिदा दिने निर्णय भए अनुसार नगरका विद्यालयहरूमा हिउँदे बिदा दिइएको उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले जानकारी दिए ।
चिसाेका कारण उपहानगरपालिकाले विद्यालयमा हिउँदे बिदा दिने निर्णय गरे पनि निजी विद्यालयहरूले त्यसको अवज्ञा गरेको गुनासो आएपछि उपमहानगरपालिकाले नगर प्रहरीलाई विद्यालय बन्द भए नभएको बारेमा बुझ्न अनुगमनमा खटाएको थियोे ।
उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख,प्रहरी निरीक्षक जयश्वर पाण्डे नेतृत्वको नगर प्रहरी र पत्रकारहरूले विद्यालय बन्द भए
नभएको अनुगमन गरेको हो ।
बुटवलका सरकारी विद्यालयहरू भने पुर्ण रूपमा बन्द रहेको पाइएको थियो ।






