बुटवल,१ माघ ।
श्रीरामको जन्मस्थल भारतको अयोध्यामा निर्माण भइरहेको श्रीराम मन्दिरमा भगवान रामको मूर्ती प्राण प्रतिष्ठा गर्न लागिएको अवसरमा यही माघ ८ गते बुटवलमा पनि बिभिन्न कार्यक्रम हुने भएको छ ।
अयोध्या स्थित श्रीराम मन्दिरमा भगवान रामको मूर्ती प्राण प्रतिष्ठा गर्न लागेको खुसियालीमा सो दिन नेपालका श्रीराम मन्दिर तथा हिन्दु धार्मिक स्थलहरुमा पनि बिबिध कार्यक्रम गरि मनाउने तयारी गरिएको हो ।
कार्यक्रमको तयारी स्वरुप आज बुटवल उपमहानरपालिका वडा नं ४ स्थित श्रीराम मन्दिरमा धार्मिक सद्भाव बैठक सम्पन्न भएको छ ।
अयोध्यामा रामको मुर्ती प्राण प्रतिष्ठा गर्ने दिन माघ ८ गते नेपालका श्रीराम मन्दिर तथा हिन्दु धार्मिक स्थलहरुमा रामको भजन किर्तन,हनुमान चालिसा पाठ,प्रसाद बितरण एवं दिपावली गर्न हिन्दु स्वयंसेवक संघ नेपालले आग्रह गरेको छ ।
कार्यक्रममा हिन्दु स्वयंसेवक संघ नेपालका उपाध्यक्ष कल्याणकुमार तिमिल्सेनाले नेपाल नेपालीहरुले हिन्दु भएकोमा गर्व गर्ने मात्रै नभएर हिन्दु धर्म पालनामा पनि ध्यान दिनुपर्ने बताए ।
बुटवल राममन्दिर स्थित श्रीराम मन्दिर ब्यवस्थापन समितिका उपाध्यक्ष अरुणकुमार श्रेष्ठले अयोध्यामा रामको मूर्ती प्राण प्रतिष्ठा गर्ने दिन बुटवलमा पनि रामको भजन किर्तन गर्नुका साथै रामको मूर्तीलाई बजार परिक्रमा गराउने र भण्डारा लगाउने तयारी भैरहेको जानकारी दिए ।
त्यस्तै साेहि दिन बुटवलको बेलबासस्थित हनुमान मन्दिरमा पनि रामकाे भजन किर्तन लगायतका कार्यक्रम आयोजना गरिएको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।






