कैलाली,२७ पुस ।
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्बिराेध निर्वाचित भएका छन् ।

कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई निर्विरोध निर्चाचित गरेको हो ।

यद्यपी निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी छ । अध्यक्षमा चौधरीको मात्रै उम्मेदवारी परेको थियो ।

अध्यक्षमा उम्मेदवारीका लागि शुक्रबार दिउँसो २ बजेसम्म समय थियो । उक्त समयभित्र चौधरीको मात्रै उम्मेदवारी परेकोले सर्वसम्मत अध्यक्ष चयन भएको पार्टीका सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए ।

रोशन थापा प्रस्तावक र सानु शाक्य समर्थक रहेर चौधरीले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित निर्विरोध निर्वाचित भएका छन् भने कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी चयन भएकी छन् । अन्य पदमा एकभन्दा बढी उम्मेदवार परेकोले सहमतिको प्रयास भइरहेको साे पार्टीले जनाएको छ ।