सुर्खेत,१६ पुस ।
मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले प्रश्नपत्र आउट गरेको अभियोगमा परीक्षा प्रमुखसहित ६ जना कर्मचारीलाई निलम्बन गरेको छ ।
विश्वविद्यालयले परीक्षामा प्रश्नपत्र आउट गरेको अभियोगमा ६ जना कर्मचारीलाई निलम्बन गरेको हो ।
प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नता देखिएकोले परीक्षा व्यवस्थापन कार्यालयका प्रमुखसहित सम्बन्धित शाखाका ६ जना कर्मचारीहरुलाई कारबाही स्वरु निलम्बन गरिएको मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले जानकारी दिए ।
परीक्षा प्रमुखसहित ६ जना कर्मचारीकाे कमजोरी देखिएकोले उनिहरूलाई निलम्बन गरिएको भन्दै उनलेे अव आउँदा दिनमा यस्ता घटना हुन नदिन विश्वविद्यालय सचेत रहेको बताए ।
विश्वविद्यालयले क्यालेण्डर बनाएर आफ्नो शैक्षिककामहरु गर्दै आएको वेलामा परीक्षाको मर्यादा नै कमजोर बनाउने गरी प्रश्नपत्र बाहिरिनु दुखद भएको भन्दै उपकुलपति सिंहले छानबिन प्रतिवेदनअनुसार जोसुकै दोषी देखिए पनि कारबाही हुने र कसैले उन्मुक्ति नपाउने दाबी गरे ।
विश्वविद्यालयकाे ग्र्याजुएट स्कुलअफ इन्जिनियरिङ अन्तरगत यही पौष ३ गतेवाट सञ्चालन भएको ग्र्याजुएट स्कुल अफ इन्जिनियरिङ तर्फ स्नातक तह छैटौँ सेमेस्टरको डिजाइन अफ स्टिल स्टकचर विषयको प्रश्नपत्र परीक्षा सञ्चालन हुनु अगावै बाहिरिएपछि उक्त विषयको परीक्षा रद्द गरी प्रश्नपत्र चुहावटको छानबिन गर्न समिति गठन गरिएको थियो ।
छानबिन समितिको प्रारम्भिक प्रतिवेदनका आधारमा परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख र सम्बन्धित इन्जिनियरिङ शाखामा काम गर्ने ५ जना अन्य कर्मचारीहरुलाई छानबिन समितिको अन्तिम प्रतिवेदन प्राप्त नभए सम्मका लागि निलम्बन गरिएको उपकुलपति सिंहले बताए ।
स्थगन भएका ग्र्याजुएट स्कुल अफ इन्जिनियरिङ अन्तरगत सिभिल, कम्प्युटर तथा हाइड्रोपावर विभागका परीक्षाहरू नयाँ तालिका अनुसार संचालन गर्नका लागि नयाँ परीक्षा व्यवस्थापन प्रमुख सहित अन्य कर्मचारीको व्यवस्था मिलाइएकाे सिंहले जानकारी दिए । परीक्षाको प्रश्नपत्र बाहिरिएपछि विद्यार्थीहरुले परीक्षा व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेका छन् ।
उपकुलपति सिंहले प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न कर्मचारीहरुलाई कारबाही स्वरुप निलम्बन गरी नयाँ व्यवस्थापन गरिएको हुनाले परीक्षा व्यवस्थापन कार्यालयमा लगाइएको ताला खोल्न आग्रह गरेका छन् ।
परीक्षा सकिएको एक महिनाभित्र रिजल्ट आउने
मध्य पश्चिम विश्वविद्यालयका हरेक परीक्षाका रिजल्टहरु परिक्षा भएको एक महिना भित्र आउने उपकुलपति प्रा.डा. सिंहले बताए । हाल सञ्चालन गरिका परीक्षाहरू केन्द्रिकृत परीक्षा प्रणालीवाट सञ्चालन भएकाले रिजल्ट ढिलो आउने गरेको हो, यसबाट विद्यार्थीलाई मर्का पर्ने गरेको भन्दै उनलेे अबदेखि परीक्षा भएको एक महिनाभित्र रिजल्ट आउने बताए ।
विश्वविद्यालयले परीक्षाको रिजल्ट सम्बन्धित डिनको कार्यालयबाट आउने गरी व्यवस्थापन गरेको पनि जानकारी दिए । सिंहका अनुसार अबदेखि विश्वविद्यालयका प्रत्येक डिनको कार्यालयले आफ्नो जिम्मेवारी रिजल्ट प्रकाशित गर्नेछ । यस अघि रिजल्ट लगायतका परीक्षा सम्बन्धी कामहरु परीक्षा व्यवस्थापन कार्यालयले गर्दै आएको थियो ।









