बुटवल,९ पुस ।
धर्मावलम्बीहरूले बुटवलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको पुतला दहन भएको छ ।

मन्त्री किरातीकाे अभिव्यक्तिको विरोध जनाउँदै सनातन धर्मावलम्बीहरूले साेमबार बेलुका बुटवलको अस्पताललाईनमा मसाल जुलुस प्रदर्शन गर्नुका साथै उनको पुतला दहन गरेका हुन् ।
प्रदर्शनकारीहरूले धर्म बेच्न पाइदैन,हिन्दु राष्ट्र कायम गर,डलरवादीहरू मुर्दावाद,प्रचण्ड सरकार मुर्दावाद,मन्त्री किराँती मुर्दावाद जस्ता नाराबाजी गरेका थिए ।
सम्पूर्ण ओमकार परिवारकाे आयाेजनामा भएको कार्यक्रममा याेगि साेमराज, विश्व हिन्दु महासंघका वरिष्ठ उपाध्यक्ष बेन बहादुर पाैडेल, हिन्दु जागरण नेपालका केन्द्रिय उपाध्यक्ष उमा ढकाल, विश्व ज्याेतिष महासंघ लुम्बिनीका सभापति जनार्दन न्याैपाने,पतन्जली युवा समितिका रूपन्देही अध्यक्ष हरि शरण पाण्डेय,सनातनि युवा मंच रूपन्देहीका अध्यक्ष सुजन भुसाल शास्त्री लगायतको सहभागीता रहेको थियो ।
मन्त्री किरातीकाे अभिब्यक्तिकाे बिराेधमा आज राजधानी काठमाडौंमा पनि बिराेध प्रदर्शन भएको थियो ।
गत बुधबार मन्त्री किरातीले दिएको अभिव्यक्ति गैरसंवैधानिक भएको भन्दै सनातन धर्मावलम्बी तथा ओमकार परिवारले काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेको हो ।
एक क्रिसमस फेस्टिभलमा मन्त्री किरातीले क्रिश्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो र संविधान मान्दिन भन्नेहरु देशद्रोही हुन् भन्ने अभिव्यक्ति दिएका थिए ।






