बुटवल,६ पुस ।
कालिका मानवज्ञान मावि बुटवलले ६३ औं बार्षिकउत्सवका अवसरमा पत्रकारिता पुरस्कार सहित विभिन्न छात्रबृति वितरण गरेको छ ।

शुक्रबार ६३ औं बार्षिकोत्सव तथा अभिभावक दिवसमा पत्रकारिता क्षेत्रबाट शिक्षामा योगदान पु¥याएको भन्दै पत्रकार विनोद परियार र विकास पराजुलीलाई पुरस्कृत गरेको छ ।

भिमबहादुर श्रेष्ठ फुलमाया श्रेष्ठ अक्षयकोषद्धारा स्थापित कालिका शैक्षिक पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव समेत रहेका परियार पुरस्कृत भएका हुन ।

विगत १६ वर्षदेखि बुटवललाई कार्यथलो बनाई पत्रकारिता गर्दै आएका परियारले खोजमुलक समाचार प्रकाशित गरेको भन्दै पुरस्कृत गरेको विद्यालयले जनाएको छ । बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेय, कालिका मानवज्ञान मावि व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, पुरस्कारका संरक्षक भिमबहादुर श्रेष्ठ र प्रधानाध्यापक दिनेश थापाले संयुक्त रुपमा पुरस्कार प्रदान गरे ।

त्यस्तै स्व. अरुण पौडेल अक्षयकोषद्धारा स्थापित पत्रकारिता पुरस्कारबाट पत्रकार पराजुली पुरस्कृत भएका छन् ।

बार्षिकउत्सवलाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले कालिका शिक्षामा अब्बल रहेको बताउँदै अब बुटवललाई पहिचान दिने गरी रचनात्मक काम गर्न सुझाव दिए । उनले उपमहानगरको तर्फबाट शिक्षालाई उच्च प्राथमिकतामा राखेको बताए । नगरप्रमुख पाण्डेयले सिप, संस्कार, बुटवलको पहिचान र भूगोल सहितको शिक्षा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले विद्यालयहरुमा बुटवल भेटिनुपर्नेमा जोड दिए ।