काठमाडौँ,३ पुस ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कामको गति बढाउन मुख्यसचिव र सचिवहरूलाई निर्देशन दिएका छन् ।
विकास र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न कामको गति बढाउन आवश्यक रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव डा वैकुण्ठ अर्याल र सचिवहरूलाई नतिजा निस्कने गरी प्रभावकारी कार्य सम्पादन गर्न निर्देशन दिएका हुन् ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्य सचिव र सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले नतिजामुखी काम गर्न निर्देशन दिएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
‘प्रधानमन्त्री कार्यालयका मुख्य डा बैकुण्ठ अर्याल र सबै सचिवलाई राखेर उहाँले अब कामको गति बढाउन भनेर भन्नुभएको छ’, आचार्यले भने, ‘कतिपय गर्न भनेका कामहरू पनि भएनन् । मन्त्रीलाई दिएका निर्देशन र निर्णय पनि पालना भएनन् । कामको गियर बढाउनुस् भनेर भन्नुभएको छ ।’
उनले आफूले पनि कामको गति बढाउने र त्यसका लागि १० बजे नै कार्यालय आएर काम सुरु गर्ने पनि उनको भनाइ थियो । सोही अनुसार प्रधानमन्त्री प्रचण्ड मंगलबार १० बजेअघि नै सिंहदरबारमा पुगेको आचार्यले बताए ।
प्रचण्ड गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सोहीअनुसार आगामी साता सरकारको एक वर्ष पुग्दै छ । आफूले सत्ता सम्हालेको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्नेबारे छलफल भइरहेको समेत आचार्यले बताए ।







