जनप्रतिनिधि तथा सरकारी कर्मचारीका छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने माग
नवलपरासी,१ पुस ।
मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासीले जनप्रतिनिधि तथा सरकारी कर्मचारीका छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम बनाउनुपर्ने माग गरेको छ ।
नवलपरासीको प्रतापपुर गाउँपालिकामा आइतवार ७ बुदें ध्यानाकर्षण पत्र बुझाउदै संगठनले उक्त माग राखेको हो ।
संगठनको प्रदेशस्तरीय विद्यार्थी जागरण अभियानको संर्घषका कार्यक्रम अन्तरगत पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीलाई ध्यानाकर्षण पत्र बुझाएको संगठनले जनाएको छ ।
संगठनका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटाको हस्ताक्षर रहेको पत्रमा अनिवार्य तथा निःशुल्क शिक्षा सम्वन्धि नियमावली –२०७७ मा व्यवस्था गरिए बमोजिम सार्वजनिक विद्यालयहरूले माध्यमिक तहसम्म बिद्यार्थी भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा तथा पाठ्यपुस्तक बापतको शुल्क लिन नपाइने व्यवस्था जस्ताको तस्तै कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ ।
त्यस्तै संस्थागत बिद्यालयहरूले लिइरहेका मनोमानी र चर्काे शुल्क नियन्त्रण गर्दै आम गरिखाने अभिभावकले तिर्न सक्ने शुल्क निर्धारण, सामुदायिक बिद्यालयहरूले अभिभाबक सहयोगको रुपमा लिएको शुल्कमा कटौतीलगायतका माग ध्यानाकर्षण पत्रमा समाबेश गरिएको छ ।
साथै, ध्यानाकर्षण पत्रमा छात्रबृतिमा पारदर्शी बनाउनुपर्ने, सामुदायिक बिद्यालयहरूमा आवश्यक शिक्षक दरबन्दी र पूर्वाधारको व्यवस्था,विद्यालयमा छात्राहरुको आत्मसुरक्षा शसक्तिकरणका लागि तालिम सञ्चालनलगायतका माग गरिएको छ ।
सामुदायिक बिद्यालयमा हुने बिद्यालय व्यवस्थापन समितिमा शुद्ध अभिभाबक बाट छनोट गरी अभिभाबक बाट नै समिति गठन गर्ने व्यवस्था मिलाउन समेत क्रान्तिकारीले पालिकासंग माग गरेको छ ।
त्यस्तै विद्यार्थी जागरण अभियान अन्तरगत त्रिभुवन बहुमुखी क्याम्पस बेलाटारीमा नगेन्द्र प्रसाद सुनारको अध्यक्षतामा २१ सदस्सीय ईकाई समिति गठन गरिएको सापकोटाले जानकारी दिए ।
अभियानकै क्रममा राष्ट्रिय मावि सुस्ता–१ छिवनीमा गौरव पोखरेलको अध्यक्षतामा २३ सदस्सीय ईकाइ समिति गठन गरिएको अखिल क्रान्तिकारीले जनाएको छ ।






