बुटवल,१ पुस ।
बुटवलको निलकण्ठ बाबा धाम तथा सन्तोषीमाता गुरुकुल विद्याश्रममा आजदेखि ३ महिने शिवशक्ति,११ अतिरुद्री, अचुतचण्डी, राष्ट्रकल्याण महायाग सुरु भएको छ ।
महायागकाे आज एक कार्यक्रमकाबीच गलेश्वर आश्रम देवघाट धामका पीठाधीस अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीले शुभारम्भ गरेका हुन् ।
साे अवसरमा भक्तजनलाई सम्बाेधन गर्दै महामण्डलेश्वर स्वामी गिरीले संस्कारयुक्त शिक्षा अहिलेको आवश्यकता रहेको बताए ।
संस्कारयुक्त शिक्षाकाे अभावमा आर्थिक रूपमा सम्पन्न भएका बृद्व बृद्वाहरू समेत बृद्वाश्रममा बस्नुपर्ने अवस्था आएको भन्दै उनलेे संस्कारयुक्त शिक्षा अहिलेको आवश्यकता रहेकोमा जाेड दिए ।
धामकी संरक्षक तथा अध्यक्ष माता देवमाया भट्टराईले बृद्वाश्रम बनाउने रकम अब गुरूकुल निर्माणमा लगाउनुपर्ने बताइन् ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य धनेन्द्र कार्की,लुम्बिनी प्रदेश सडक सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रमुख कृष्ण प्रसाईं,इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दानबहादुर थापा,धामका उपाध्यक्ष चुडामणिा पाैडेल,कार्यक्रम प्रस्ताेतन तथा पत्रकार खेमराज रेग्मी लगायतले महायागकाे बारेमा आ आफ्नो धारणा राखेका थिए ।
पछिल्लो समय धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित धाममा सञ्चालन भएको तीन महिने महायाग चैत ४ गतेसम्म चल्ने महायाग प्रचारप्रसार विभागका संयोजक गणेश पौडेलले जानकारी दिए ।
यो महायाग अति नै शक्तिशाली र कठिन अनुष्ठान भएको धामका संरक्षणक तथा अध्यक्ष माता देवमाया भट्टराईले बताईन ।
धाममा १३ औ पटक हुन लागेको महायागमा यज्ञआचार्य डा. राजेन्द्र रेग्मी र आचार्य हाकिम भण्डारी (वशिष्ट) लगायत १ सय २१ जना ब्राह्मणबाट ३ महिना अवधिभर नै बेदका रिचा, पुराणका उपासना मन्त्रजप गरिने उनले बताईन ।
महायाग सम्पन्न गर्न करीब ४ करोड रुपैया खर्च हुने अनुमान रहेको आर्थिक उपसमितिका संयोजक लेख बहादुर कार्कीले बताए ।
महायाग सफल बनाउन १९ वटा उपसमिति गठन गरिएको धामका उपाध्यक्ष रूपसिं थापाले जानकारी दिए ।
महायाग अवधिमा पुर्व राजा ज्ञानेन्द्र समेत आउने कार्यक्रम रहेको उनलेे बताए ।
कक्षा ६ देखि १२ कक्षासम्म पठनपाठन हुने गुरुकुलमा हाल ७५ जना छात्रहरु अध्ययन गरिरहेका छन् ।






