काठमाडौँ,२९ मंसिर ।
कानुन मन्त्री धनराज गुरूङले नेताहरूलाई नैतिक शिक्षाको आवश्यकता रहेको बताएका छन् । प्याब्सन दोस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको उद्घाटन गर्दै मन्त्री गुरुङले नेताहरूमा नैतिक शिक्षाको अभाव देखिएको भन्दै नैतिक शिक्षा सिकाउनुपर्ने बताएका हुन् ।

शैक्षिक क्षेत्रमा खराबी आयो भने मुलुक नै खराब हुन्छ भन्दै मन्त्री गुरूङले म जस्ता नेताहरूलाई नैतिक शिक्षा सिकाइदियो भने धेरै राम्रो हुने बताए । ´मैले अरू धेरै केही मागिन नेताहरूलाई नैतिक शिक्षा मात्र दिनुभयो भने धेरै राम्रो हुन्छ। मैले आज यति नै मागे’ मन्त्री गुरुङले भने ।

नेपालबाट बर्सेनि लाखौं विद्यार्थी बाहिरिने गरेको भन्दै उनलेे त्यसलाई रोक्न शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्नेमा जाेड दिए । ‘शिक्षा क्षेत्रको सुधार, लाखौँ विद्यार्थी बाहिरिने जारी छ। नेपाललाई शैक्षिक हब बनाउन सकियो भने राम्रो हुन्छ। त्यस्तो भयो भने विद्यार्थी बाहिर जाने होइन आउने विद्यार्थी पनि बढी हुन्छन्।’ उनले भने ।

प्लस टु पास गरेपछि नेपाली विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया जाने गरेको भन्दै उनलेे त्यसलाई रोक्नुपर्ने बताए । उनले भने- ‘कतै ४–५ वर्षमा मुलुक ब्रेन ड्रेनको अवस्थामा पुग्ने खतरा छ । यो विषयमा म गम्भीर छु। नेपाललाई एजुकेशनल हब बनाउन सकियो भने विदेशी विद्यार्थी यही आउँछन्। उनीहरूका अभिभावक पनि आउँछन्’ ।

निजी विद्यालयमा धनीका मात्रै छोराछोरी अध्ययन नगर्ने गरेको बताउदै उनलेे निजीमा मध्यम खालकाहरूले पनि पढाउने गरेको बताए । दुःखै गरेर पनि छोराछोरीलाई राम्रै स्कुलमा पढाउने सबैकाे चाहना हुने मन्त्री गुरुङकाे भनाइ छ ।