काठमाण्डौ,२८ मंसिर ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
बिहीवार उच्च अदालतका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई धरौटीमा छाड्न आदेश दिएको हो । यो प्रकरणमा खाणको प्रत्यक्ष संलग्नता नदेखिएपछि काठमाण्डौ जिल्ला अदालतको आदेश बदर गरी उच्च अदालतले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । धरौटी बुझाएपछि खाँण सात महिनापछि छुट्न लागेका हुन् ।
यसअघि उच्च अदालत पाटनमा दुई जना न्यायाधीशबीच राय बाझिएपछि सुनुवाइ आज बिहीबारका लागि सारिएको थियो । जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाँणलाई छाड्ने विषयमा गएको मंसिर १५ गतेको सुनुवाइका क्रममा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाण गएको वैशाख २७ गते पक्राउ परेका थिए ।







