काठमाडौँ,२७ मंसिर ।
नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग ‘मिलेमतो’ गरेको आरोपमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थप दुईजना अधिकृतलाई पक्राउ गरेको छ ।

नेपाल वायुसेवा निगममा कार्यरत अधिकृतहरू अरविन्द यादव र विश्वनाथ कोइरालालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले जानकारी दिए ।

प्रहरीले यसअघि वायुसेवा निगममा कार्यरत अर्का अधिकृत होमनाथ पोखरेललाई पक्राउ गरेकाे थियो ।

भिजिट भिसामा विदेश जानेहरूसँग फेला परेका शङ्कास्पद कागजात अनुसन्धान गर्ने क्रममा प्रहरीले नक्कली कागजात बनाउने ठाउँ पत्ता लगाएको थियो । वायुसेवा निगमका अधिकृतहरूले गिरोहसँग मिलेर आर्थिक लाभ लिने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले सङ्कलन गरेर पठाएको १ हजार ३२ थान भिसा सहितका कागजातबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थालेको थियो । सो कागजातबारे अनुसन्धान गर्दा गिरोहले नक्कली कागजात बनाएर पर्यटक भिसा लगाएर सर्वसाधारणलाई विदेश पठाउने गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।

यसअघि प्रहरीले चारजना कन्सल्टेन्सी सञ्चालकसहित १३ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।