नवलपरासी,२६ मंसिर ।
मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) का लुम्बिनी प्रदेश संयोजक नबीन खड्का सहित ३ जना पक्राउ परेका छन् ।
उनिहरूलाई मंगलबार ईलाका प्रहरी कार्यालय बर्दघाटले पक्राउ गरेको हो ।
अखिल (क्रान्तिकारी) ले हाल ‘विद्यार्थी जागरण अभियान’ सञ्चालन गरिरहेको छ ।
अभियानको क्रममा बर्दघाट नगरपालिकाको पर्खालमा ‘दलाल संसदिय व्यवस्था मुुर्दावाद’ ‘ सेनेटरी प्याडमा गरिएको भष्ट्राचार मुर्दावाद’ जस्ता नाराहरु लेख्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । नारा लेख्ने क्रममा नगरपालिकाको नगर प्रहरीले उनीहरुलाई हस्तक्षेप गरेकाे थियो । नगर प्रहरीको हस्तक्षेप पश्चात नगर प्रहरी र अखिल (क्रान्तिकारी)का विद्यार्थीहरुबीच केही बेर तनाब भएको थियो ।
पक्राउ पर्नेमा केन्द्रीय सचिवलाय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक खड्का सहित अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो सह–संयोजक मनोज थापा र लुम्बिनी ब्युरो सदस्य ईन्दु वली रहेकाे अखिल (क्रान्तिकारी) नवलपरासीका संयोजक सन्देश सापकोटाले जानकारी दिए ।






