नवलपरासी,२५ मंसिर ।
मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, निकट अखिल (क्रान्तिकारी)ले लुम्बिनी प्रदेशस्तरीय विद्यार्थी जागरण अभियान शुरु गरेको छ ।

अभियान शुरुवातको पहिलो दिन सोमवार अखिल (क्रान्तिकारी) नवलपरासीले बर्दघाटमा पत्रकार भेटघाट गरी अभियान बारे जानकारी गराएको हो ।

पछिल्लो समय विश्वविद्यालयहरुको अवस्था दयनीय भएको, देशको शिक्षा प्रणाली सुधार गर्नु पर्ने लगायतका बिषय राख्दै विद्यार्थी जागरण अभियान थालिएको क्रान्तिकारीले जनाएको छ ।
विश्वबविद्यालय र सामुदायिक विद्यालयहरुका व्यवस्थापन समितिमा शिक्षा सुधारका लागि राजनीतिक भागबन्डा बन्द गर्नु पर्ने, शिक्षा र स्वास्थ्य निशुल्क हुनुपर्ने, श्रममुखी पाठ्यक्रम लागू गर्नु पर्ने माग सहित जागरण अभियानको थालनी गरिएको बर्दघाट प्रेस क्लबमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको थियो ।

‘नेपालमा भएका बिदेशी कलेजमा विद्यार्थीको चाप बढ्दो छ हाम्रा बिश्वबिद्यालयको अवस्था खस्कदो छ, आज विभिन्न मुलुकका भाषा पढाई हुने संस्थाहरुमा भिड छ, यसको मुल जड नै विद्यालयमा हुने राजनीति नै हो, यसको विरुद्धमा हाम्रो अभियान हो,’ अखिल क्रान्तिकारीका केन्द्रीय सह संयोजक विरेन्द्र शाहले भने – ‘अन्ततः यो ब्यवस्थाले नै यस्तो समस्या खडा गरेको हो । यो ब्यवस्थाका बिरुद्ध संर्घष केन्द्रीत गर्नुपर्छ ।’

जिल्लामा विद्यार्थी छात्रवृत्ति, विद्यार्थी शुल्क, दर्ता बिना नीजि विद्यालयहरु सञ्चालनलगायतका शैक्षिक बिषयहरु उठाउन गरेको जिल्ला संयोजक सन्देश सापकोटाले बताए । विद्यार्थी र सरकारी बिद्यालयहरुका बेतिथिलाई केन्द्रबिन्दुमा राखेर त्यसका विरुद्धमा अभियान सुरु गरिएको उनले जानकारी दिए ।