चितवन,२५ मंसिर ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा सरकार लागेको बताएका छन् ।
सोमबार बिहान चितवनमा पत्रकारसँगको कुराकानीमा मन्त्री बस्नेतले ऐन संशोधनको लागि मन्त्रिपरिषद्मा छलफल भइरहेको जानकारी दिए ।
चिकित्सा शिक्षा ऐनको विद्यमान व्यवस्थाले नेपालमा मेडिकल शिक्षा जुन ढङ्गले अघि बढ्नुपर्ने हो त्यो ढङ्गले अघि बढ्न नसकेको बताउदै उनलेे ऐन संशोधनको तयारी भएको बताए । ‘ऐन संशोधनका विषयमा प्रधानमन्त्री ज्यू तयार हुनुहुन्छ । क्याबिनेटमा समेत यसका विषयमा छलफल हुन्छ,’ उनले भने ।
ऐन संशोधनका विषयमा अहिलेसम्म दुईपटकसम्म बैठक भइसकेको भन्दै उनलेे संशोधनको प्रक्रिया अघि बढेको बताए । चिकित्सा शिक्षा ऐनका कारण देशमा आगामी पाँच वर्षमा चिकित्सक तथा स्वास्थ्य प्राविधिकको समस्या हुने देखिएकाले संशोधन गर्न लागिएको बस्नेतको भनाइ छ ।
विद्यमान ऐनलाई संशोधन गरेर गुणस्तरीय शिक्षा र शुल्क निर्धारण गर्ने विषयमा कार्यविधि बनाएर सरकारले अनुगमन गर्ने उनले बताए । अहिलेको शिक्षा नीति केही खुकुलो हुने उनले बताए ।
सरकारले अहिले एक सयदेखि तीन सय शय्या भएका अस्पताललाई नर्सिङ र प्यारामेडिकस पढाउन दिने र तीन सय शय्या भन्दा माथि भएका अस्पताललाई एमबीबीएस पढाउन दिनेगरी खुकुलो पार्न लागेको उनले जानकारी दिए ।
सुधार गर्नुपर्ने ठाउँमा सुधार गरेर मेडिकल शिक्षा सञ्चालन गरिने मन्त्री बस्नेतको भनाइ थियो । एक फरक प्रसङ्गमा मन्त्री बस्नेतले सूर्तीजन्य पदार्थमा लाइदै आइएको कर अब स्वास्थ्य मन्त्रालय मातहतमा ल्याउने गरी काम भइरहेको पनि जानकारी दिए ।
त्यसबाट उठेको रकमले अस्पतालको गुणस्तर वृद्धि र कर्मचारी व्यवस्थापन गरिने उनको भनाइ थियो ।
चिकित्सा क्षेत्रमा २२ वर्षअघिभन्दा कम दरबन्दीले काम भइरहेको चर्चा गर्दै उनले यसलाई थप गरेर अघि बढ्नुपर्ने आवश्यकता औल्याए । ‘कुनै एक जना व्यक्तिले अनशन बस्छु भन्दैमा देशको हितका लागि हुने काममा राज्यले खुट्टा कमाउनु हुँदैन र कमाउँदैन,’ उनले भने, ‘भएका राम्रा कुराको कार्यान्वयन र नराम्रा कुराको सुधार एवं संशोधन गरेर अघि बढ्छौँ ।’






