चितवन,२३ मंसिर ।
देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’ले २०७९ सालको कविडाँडा आख्यान पुरस्कार पाएको छ । पुरस्कारको राशि १ लाख २५ हजार रूपैयाँ रहेको छ । शनिबार चितवनको सौराहामा आयोजित एक कार्यक्रममा सुवेदीलाई उक्त पुरस्कार प्रदान गरिएको छ ।
उपन्यास ‘मनु’ले ०७९ सालको पद्मश्री साहित्य पुरस्कार पनि पाएको थियो । देवीप्रसाद सुवेदीका १८ वटा कृति प्रकाशित छन् । कार्यक्रममा समीक्षक केशव चालिसेले ऋगवैदिक समाजको विषय समेटेको उपन्यास ‘मनु’मा दण्ड, धर्म, न्याय, अनुशासन र राजनीति जस्ता विषय समावेस भएको बताए ।
यसमा कृषि र औद्योगीकरणका विषय पनि परेको उनले बताए । मनु मानव धर्मका लागि लागेको पात्र भएको वर्णन उपन्यासमा रहेको उनले बताए ।
२०६० सालमा स्थापित भरतपुरको साहित्यिक संस्था कविडाँडा साहित्य समाजले विस २०७५ सालदेखि कविडाँडा आख्यान पुरस्कार दिन सुरु गरेको हो । पहिला ३० हजार रूपैयाँ राशिको कविडाँडा आख्यान पुरस्कार यसै वर्षदेखि सवा लाख रूपैयाँ पुर्याइएको थियो ।
यसअघि ७५ सालमा महेश थापाको कथासंग्रह ‘मरीचिका’, ७६ सालमा श्याम साहका कथासंग्रह ‘पथेर’, ७७ सालमा भुवन ढुंगानाको उपन्यास ‘परित्यक्ता’ र ७८ सालमा लोकराज भट्टको उपन्यास ‘छाइल’ले कविडाँडा आख्यान पुरस्कार पाइसकेका छन् ।
कविडाडाँडाले प्रत्येक वर्ष देव-खीना स्मृति पुरस्कार तथा सम्मान, युवा पुरस्कार, कविडाँडा कीर्ति पुरस्कार र काव्य पुरस्कार पनि दिँदै आएको कविडाँडा साहित्य समाजमा अध्यक्ष एलबी क्षेत्रीले जानकारी गराए ।






