काठमाडौं,२२ मंसिर ।
एसीसी यू-१९ एसिया कप आज देखि युएईको दुबईमा सुरु हुँदै छ । एसिया कपको पहिलो खेलमा आज समूह ए अन्तर्गत नेपाल र पाकिस्तान भिड्ने भएका छन् ।
यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि सुरु हुने कार्यतालिका छ ।
त्यस्तै आज नै समूह ए कै भारत र अफगानिस्तानबीच पनि खेल हुँदै छ। यो खेल पनि नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि नै सुरु हुँदै छ। नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ एसिया कप खेल्ने नेपाली १४ सदस्यीय टिम दुबई पठाएको छ ।
देव खनालको कप्तानीमा घोषणा गरिएको नेपाली टिममा सिनियर टिमका गुलशन झालाई समावेश गरिएको छ । नेपाली टिममा देव खनाल (कप्तान), गुलशन झा, अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद घिमिरे, हेमन्त धामी, दीपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र आकाश चन्द रहेका छन् ।
यू-१९ एसिया कपमा नेपाल समुह ए मा भारत, पाकिस्तान र अफगानिस्तानसँग परेको छ। दुबईमा हुने यू-१९ एसिया कप मङ्सिर २२ (डिसेम्बर ८) देखि पुस १ (डिसेम्बर १७) सम्म हुने तालिका रहेको छ ।
खेल तालिका अनुसार नेपालले मङ्सिर २२ (डिसेम्बर ८) मा पाकिस्तानको सामना गर्ने छ। त्यस्तै नेपालले दोस्रो खेल मङ्सिर २४ (डिसेम्बर १०) मा अफगानिस्तानको र मङ्सिर २६ (डिसेम्बर १२) मा भारतको सामना गर्ने छ ।
कुल ८ देशले भाग लिने यू-१९ एसिया कपको समूह बी मा भने बंगलादेश, जापान, श्रीलंका र युएई रहेका छन्। दुवै समूहबाट शीर्ष दुई स्थानमा रहने देशले सेमिफाइनलमा स्थान बनाउने छन् ।
यू-१९ एसिया कपको सेमिफाइनलका खेल मङ्सिर २९ (डिसेम्बर १५) मा हुने छन् भने फाइनल खेल पुस १ (डिसेम्बर १७) मा हुने छ ।






