बुटवल,२२ मंसिर ।
काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित २ जना पक्राउ परेका छन् ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले १४ किलो सुनसहित २ जनालाई पक्राउ गरेको हो । गएराति फ्लाई दुबईको उडान नम्बर एफजेड–५७३ बाट आएका गोरखाका मीनबहादुर घले र अर्का एक जनालाई पक्राउ गरेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।
कार्यालयका भन्सार अधिकृत रमेश कुँवरले घलेले छातीको दायाँबायाँ कपडामा बेरेर लुकाइछिपाइ ल्याएको ७ थान बिस्कुट आकारको १४ किलो सुन (सुनजस्तो देखिने पहेलो धातु) सहित उनलाई पक्राउ गरेको जानकारी दिए ।
काठमाण्डाै उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले घलेकाे सूचनाका आधारमा थप १ जनालाई पक्राउ गरिएको बताए । पक्राउ परेका घलेलाई निकासी पैठारी नियन्त्रण ऐन २०१३ र भन्सार ऐन २०६४ अन्तर्गत भन्सार महसुल छली तथा चोरी पैठारी कसुर गरेकाले थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल कार्यालय गौचरनमा बुझाउने गरी प्रहरी प्रभाग कोटेश्वरको जिम्मा लगाएको छ ।
घटनाकाे बारेमा थप अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।







