परासी,२१ मंसिर ।
विद्यार्थीलाई निर्घात कुटपिट गर्ने पश्चिम नवलपरासीकाे सरावलका शिक्षकविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ ।
जिल्लाको सरावल गाउँपालिका-७ स्थित बर्दघाट कालिका ईङ्गलिस बोर्डिङ्ग स्कुलका सहायक प्रधानाध्यापक निरञ्जन यादवलाई पक्राउ गरेर बालबालिका सम्बन्धि ऐन २०७५ को दफा ७२ अनुसार बालबालिका सम्बन्धी कसुरमा प्रहरीले मुद्दा दायर गरेको हो ।
विद्यार्थीलाई निलडाम बस्ने गरी निर्घात कुटपिट गरेर फरार रहेका शिक्षकलाई पक्राउ गरेर मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका एसपी काजीकुमार आचार्यले बताए ।
पिडित विद्यार्थीका अभिभावकको जाहेरीको आधारमा शिक्षक यादवलाई पक्राउ गरि बालबालिकासम्बन्धि कसुरमा मुद्दा दायर गरेकाे एसपी आचार्यले बताए ।
कुटपिटमा संलग्न शिक्षकलाई पक्राउ गरेर घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
कक्षा एकमा अध्ययनरत ९ वर्षिय कञ्चना राजभरलाई यादवले बालिकाकालाई विद्यालय नआएको भन्दै घर र विद्यालयमा निर्घात कुटपिट गरेका थिए । घटनापछि स्थानीयले शिक्षकलाई कारबाही माग गर्दै विद्यालयमा तालाबन्दी गरेका थिए ।
बालबालिका सम्बन्धी कसुरमा दोषी ठहर भएमा एक वर्षसम्म कैद र ५० हजार जरिवाना वा दुवै हुन सक्ने कानुनी व्यवस्था छ ।






