काठमाण्डौ,२० मंसिर ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शासकीय प्रणालीमा समग्र सुधारका लागि सरकारले शासकीय सुधार आयोग गठन गर्ने तयारी गरिरहेको बताएका छन् ।
सरकारको ध्यान शासकीय प्रणालीमा सुधार गर्ने कुरामा केन्द्रित रहेको उनलेे बताए ।
बुधवार ललितपुरमा आयाेजित नेपालको अर्थतन्त्र र शासकीय सुधार विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले समग्र शासकीय प्रणालीमा सुधार गरेर अघि बढ्ने सरकारको सोच रहेको बताएका हुन् ।
जनताले अनुभूति गर्ने गरी सेवा प्रवाहको कामलाई अघि बढाउन देशको समग्र शासकीय प्रणालीमा सुधार गर्नुको विकल्प नरहेको उनकाे भनाइ थियो ।
आफूले सरकारको नेतृत्व लिने बेलामा नतिजामुखी काम गर्न मन्त्रालयका सचिवहरुलाई दिएको निर्देशन अनुसार काम हुन नसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले असन्तुष्टि समेत व्यक्त गरे । उनले देशको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आमूल परिवर्तनकारी सोचका साथ अघि बढ्नुपर्नेमा जाेड दिए ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘सोचेजस्तो शासकीय सुधारको काम गर्न सकिएन । अब सरकारको ध्यान खाली शासकीय सुधार गर्ने कुरामा मात्रै होइन समग्र शासकीय प्रणालीमा नै सुधार गर्ने कुरामा हामी छलफल गरिरहेका छौँ । र, शासकीय सुधार आयोग निर्माण गरेर यसको समग्र समीक्षा गर्ने र अगाडि जाने प्रक्रियातिर हामी छौँ । त्यसकारण यो छलफलले हाम्रो त्यो सोचलाई प्रत्यक्षरुपले सहयोग पुग्छ भन्ने मैले महसुस गरेको छु । हामीले सेवा प्रवाहको क्षेत्रमा सानासाना कामहरुमा सुधार गरेर अनि ठूलाठूला कामहरुलाई ‘प्रायोटाइज’ गरेर जान जरुरी छ । नागरिकले प्रत्यक्ष रुपमा आफूलाई सेवा प्राप्त भएको अनुभूत गरेन भने सरकारप्रति पनि, राजनीतिक दलहरुप्रति पनि र हाम्रो कर्मचारीतन्त्रप्रति पनि नागरिकको भरोसा कमजोर हुँदै जाने, विश्वास टुट्दै जाने हुन्छ । त्यसकारण हामीले तत्काल नागरिकलाई सेवा प्रवाह गर्ने कुरालाई कसरी कुन कुरामा केन्द्रित गरेर विद्यमान ऐन, कानुन भित्रै बसेर सुधार गर्न सकिने सेवा प्रवाह के हो, हामीले ऐनहरु संशोधन गरेर दीर्घकालीन ढंगले जानुपर्ने के हो भनेर ठोस निष्कर्षमा पुग्नुछ ।’
जनतामा उत्साह आउने गरी परिणाममुखी काम गर्न पनि
प्रधानमन्त्री प्रचण्डले मातहतका सबै निकयलाई सचेत गराए ।







