काठमाडौं,१२ मंसिर ।
प्रहरी समायोजन लगायत संघीयता कार्यान्वयनका लागि दबाब दिन प्रदेशका गृहमन्त्रीहरु काठमाडौंमा भेला भएका छन् ।
उनीहरुले आज प्रधानमन्त्री र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर आफ्ना माग राख्ने कार्यक्रम रहेको छ ।
आज प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर प्रहरी समायोजनको मागसहितको ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले जानकारी दिए ।
केन्द्र सरकारले प्रहरी समायोजनमा ढिला गरिरहने हो भने हामी आफ्नो हिसाबले अघि बढ्छौं भनेर प्रधानमन्त्री र गृहमन्त्रीलाई चेतावनी दिने गृहमन्त्री पाण्डेयले बताए ।
उनका अनुसार प्रधानमन्त्री प्रचण्डलाई दिउँसो २ बजे र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई दिउँसो साढे ३ बजे भेटेर ज्ञानपन पत्र बुझाउने कार्यक्रम छ ।
मुलुक तीन तहको संघीय संरचनामा वर्गीकरण भएको झण्डै एक दशक पुग्न लाग्दा पनि प्रदेश प्रहरी गठन हुन सकेको छैन । प्रहरी समायोजन ऐन २०७६ साल माघ २८ गते नै राष्ट्रपतिबाट प्रमाणीकरण भए पनि केन्द्र सरकारले कार्यान्वयनमा आनाकानी गरिरहेको प्रदेश सरकारहरुको गुनासो छ ।
प्रदेश प्रहरी नहुँदा शान्ति सुरक्षा मजबुत पार्न नसकिएको जिकिर गर्दै संघीय सरकारविरुद्ध आन्दोलन घोषणा गरेको मधेश सरकारले २ पटक सर्वाेच्च अदालतमा मुद्दा नै दायर गरेको छ ।






