बिराटनगर,१० मंसिर ।
नेकपा एमालेका केन्द्रीय सचिव समेत रहेका प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई सवार गाडीमाथि ढुंगामुढा भएको छ ।

आइतबार ताप्लेजुङबाट काठमाडौँ फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्क नजिकै पहिचान पक्षधरले भट्टराई सवार गाडीमाथि ढुंगामुढा गरेको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार ढुङ्गा लागेर भट्टराई सवार प्रदेश–२–०१–००१ च ००४० नम्बरको गाडी कुच्चिएको छ ।

आक्रमणपछि भट्टराईलाई कडा सुरक्षासहित स्कर्टिङ गरेर गन्तव्यतर्फ पठाइएको प्रजिअ पाेखरेलले बताए । ढुंगामुढा प्रहार गर्नेहरू पहिचानवादी भएकाले उनीहरूको नाम समेत जानकारीमा आएकाले उनीहरू पक्राउ पर्ने प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाइ छ ।

यसअघि आजै एमाले कार्यकर्ता र पहिचानवादी पक्षधरबीच धकेला धकेल भएको थियो ।
उनीहरुले भट्टराईको निवास अगाडि प्रदर्शनसमेत गरेका थिए ।

दसैं, तिहार, छठ, नेपाल सम्वत् जस्ता चाडपर्वको अवसरमा भट्टराईसहित एमालेबाट निर्वाचित सांसदहरु उर्मिला थेवे र प्रदेश सांसद तिलकुमार मेन्याङ्बोले चियापान कार्यक्रम आयोजना गरेका थिए ।

प्रदेश १ पुन: नामांकन संयुक्त संघर्ष समितिले कोशी प्रदेश नामको खारेजीको माग गर्दै आन्दोलन गरिरहेको छ ।