रसुवा,१० मंसिर ।
पक्राउ परेका मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई जना प्रहरी कारागार चलान भएका छन् । कारागार चलान हुनेमा जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक रामविद्या शाह र प्रहरी वरिष्ठ हवल्दार जगतनारायण वछाड थारू रहेका छन् ।

उनीहरूमाथि पक्राउ गरिएका व्यक्ति जिल्लास्तरमा ल्याउने क्रममा रसुवाकाे थुमनका एक जना बीच बाटोमै गायब गराएको आरोप लागेको छ ।

मानिस कुटपिट गर्ने गोसाइँकुण्ड गाउँपालिका–१ थुमनका ४२ वर्षीय छिरिङ तामाङलाई थुमनबाट प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी धुञ्चे ल्याउँदै गर्दा रोङ्गा दोभानको नजिक उत्तरतर्फको भिरबाट बेपत्ता बनाएको आरोपमा दुई जना सुरक्षाकर्मी पक्राउ परेका थिए ।

सुरक्षा संयन्त्र नअपनाई पक्राउ गरिएका व्यक्ति बाटोमा बेपत्ता पारेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत दायर भएको मुद्दामा पछि ठहरेबमोजिम हुनेगरी अहिलेलाई धरौटीसहित तारेखमा छोड्ने रसुवा जिल्ला अदालतबाट आदेश जारी भएकाेमा तोकिएको जनही छ लाख ५० हजार रुपैयाँ धरौटी राख्न नसक्दा ती दुई प्रहरी कारागार चलान भएका हुन् ।

यस्तै मानिस बेपत्ता बनाउने काममा संलग्न भएको आरोपमा पक्राउ परेका गोसाइँकुण्ड गाउँपालिका–१ थुमनका उर्केन छिरिङ तामाङ पाँच लाख र दावा ग्याल्जेन तामाङ तीन लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । पक्राउ गरिएका सबैलाई मानिस बेपत्ता गराउने अभियोगमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो ।

प्रहरीको अनुरोधमा उर्केनले थुमनबाट धुञ्चे जानका लागि गाउँमा गाडीको व्यवस्था गरिदिएको र दावा ग्याल्जेनले मोटरसाइकलमा राखी धुञ्चे ल्याउँदा तार्सा भन्ने गाउँतल भिरबाट भोटेकोसीतर्फ हामफालेर भागेकाे प्रहरीको बयान रहेको बताइएको छ । पीडित तथा आफन्त शुभचिन्तक एवम् गाउँलेले भने षड्यन्त्रपूर्वक मानिस बेपत्ता पारिएको आरोप लगाउँदै दोषीमाथि कारबाहीका लागि सडक सङ्घर्षसमेत गरेका थिए ।

उनीहरूबाटै बेपत्ता पारिएको हो भन्ने तत्काल यथेष्ठ प्रमाण र आधार नहुँदा लामो बहस र छलफलपछि ठहरेबमोजिम फैसला हुनेगरी अहिलेलाई धरौटी जमानतमा छोड्ने आदेश जारी भएको रसुवा जिल्ला अदालतका श्रेस्तेदार मुना अधिकारी ढकालले जानकारी दिइन् ।

याे मुद्दामा बहस चलिरहेको समयमा पीडिततर्फका केही व्यक्तिले अदालतकाे छानामा ढुङ्गा प्रहर गरे पनि नेपाल प्रहरीले त्यसलाई तत्काल नियन्त्रण गरेको थियो । रसुवा जिल्ला अदालतले अहिलेसम्म गरेका आदेश तथा फैसला कुनै पनि विवादित नभएको र यस मुद्दालाई गम्भीरतापूर्वक अध्ययन र विश्लेषण गरी अन्तिम फैसलामा जाने जानकारी दिँदै पहिलो चरणको आदेशमा नै अनावश्यक टीकाटिप्पणी गरी स्वतन्त्र न्यायालयको मानमर्दनमाथि आँच आउने टीकाटिप्पणी नगर्न आमनागरिकसमक्ष रसुवा जिल्ला अदालतले अनुरोध गरेको छ ।