काठमाडौँ,८ मंसिर ।
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता,धर्म, संस्कृति र नागरिक बचाउ अभियाटनले भोलि पनि काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् । नेपालका संयोजक प्रसाईंले शुक्रवार ठिमीस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै शनिवार तीनकुनेमा प्रदर्शन हुने र त्यहाँ आफू पनि सहभागी हुने बताएका हुन् ।

उनले सरकारले आफ्नो सुरक्षाका नाममा आफूलाई घरभित्र थुनेर बेवकुफ बनाउन खोजेको आरोप लगाए । आफू गोली खान वा जेल जान तयार रहेको बताउँदै उनलेे आफू आन्दोलन छोडेर नभाग्ने दृढता ब्यक्त गरे ।

उनले आफूलाई नजरबन्दमा राखिएको बताउँदै राजनीतिक दलहरू एकातिर आफू र आफ्नो पक्षमा रहेका जनताहरू प्रतिपक्ष रहेको दाबी गरे ।

प्रसाईँले आफ्ना मान्छेलाई समेत सरकारले पार्टी प्यालेसमा लगेर नजरबन्दमा राखेको र कैयनलाई पक्राउ गरेको बताए ।

पहिलो दिनको गणतन्त्र विरोधी आन्दोलनपछि पत्रकार सम्मेलन गर्दै प्रसाईंले अर्को दिनको आन्दोलनमा श्रीलंका मोडेलमा नेताका घर घरमा जाने बताएपछि शुक्रवार प्रहरीले उनलाई घरबाट निस्कन दिएको थिएन । यता तीनकुनेमा प्रदर्शनका लागि आएका उनका केही समर्थकहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।