काठमाडौँ,७ मंसिर ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको समूहले काठमाडौंकाे बल्खुमा गरेको शक्ति प्रदर्शनमा झडप हुँदा प्रहरीले ५ राउण्ड रबरको गोली चलाएको छ ।

प्रदर्शनकारीसँग झडप हुँदा ५ राउण्ड रबर बुलेट प्रहार गरिएको उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता (एसएसपी) दिनेशराज मैनालीले जानकारी दिए ।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का समर्थक र प्रहरीको बिचमा बिहीबार दिउँसो बल्खु चोकमा दुईपटक झडप भएको थियो । झडपमा प्रहरीले १५७ सेल अश्रुग्याँस प्रहार गरेको छ । करिब १२ बजेतिर बल्खुबाट कुलेश्वर तर्फ जान खोजेको भिडलाई रोक्न खोज्दा प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा ५ जना प्रहरी घाइते भएकाे एसएसपी मैनालीले बताए ।
घाइते सुरक्षाकर्मीलाई उपचारका लागि प्रहरी अस्पतालमा भर्ना गरिएको छ । आन्दोलनकारी तर्फ २३ जना घाइते भएका छन् । घाइतेमध्ये १७ जना आन्दोलनकारी उपचार पश्चात् डिस्चार्ज भएका छन् । ६ जना आन्दोलनकारीको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ ।






