काठमाडौँ,७ मंसिर ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आह्वान काठमाडौंकाे बल्खुमा भएको प्रदर्शनका क्रममा दिनभर प्रहरी र प्रदर्शनकारीबिच पटक पटक झडपको अवस्था उत्पन्न भएको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपालको ब्यानरमा भएको प्रदर्शनमा एकाएक अशान्ति मच्चिन पुगेको हो ।
राजधानीको विभिन्न स्थानबाट र्यालीसहित तोकिएको स्थान बल्खुमा भेला भएका प्रदर्शनकारीहरुले शान्तिपूर्ण प्रदर्शन गरिरहेपनि प्रसाईं आएर आक्रामक भाषण गरेसँगै एकाएक माहौल खलबलिन पुगेको थियो ।
प्रसाईकाे आक्रामक भाषणसँगै प्रदर्शनकारीहरुले प्रहरीको घेरा तोडेर अघि बढ्न खोजेपछि दुई पक्षीय झडपको अवस्था बनेको बताइएको छ ।
दिउँसो १ बजेपछि दलबलसहित बल्खु पुगेका प्रसाईंले सम्बोधनका क्रममा आक्रामक अभिव्यक्ति दिए । उनले प्रदर्शनकारीलाई उत्तेजित बनाउँदै वर्तमान व्यवस्थाको तेजोबोध गर्ने प्रयास गरे । सुरुमै उनले देशमा बस्ने वातावरण नभएको भन्दै दसैँको अष्टमीको दिन पनि नेपालीहरू विदेशमा श्रम गर्न जान बाध्य भएको यथार्थ प्रस्तुत गरे । उनले भने , ‘हामीले रुँदै झोला बोकेर दसैको अष्टमीको दिन देश छोड्नु परेको छ । म यसको अन्त्य गर्न चाहन्छु । म त्यसै बोलेको होइन, मभित्र ठुलो पीडा छ ।’
उनले आफू म दुर्गा मातालाई साक्षी राखेर यहाँ आएको भन्दै मर्न तयार रहेको तर नभाग्ने बताए । ‘दुर्गा मातालाई साक्षी राखेर म तपाईँहरुको अगाडि मर्न आएको छु । म मर्न तयार छु । म भाग्न तयार छैन’, प्रदर्शनकारीलाई उकास्दै उनले भने, ‘म भाग्दिनँ । तपाईँहरुका छोराछोरीलाई यो देशमा फर्काएर यो देशलाई फेरि पुरानो नेपाल बनाउनु छ ।’
उनले संघीयता नचाहिने भन्दै आफूहरूले सुरु गरेको आन्दोलन जनव्रिदोह भएको जिकिर गरे । उनले नेपाली नेताहरूको दुबई, सिंगापुर, कम्बोडिया, मंगोलिया, अमेरिका,लण्डनलगायतका देशमा लगानी रहेको दाबी गर्दै भने, ‘हाम्रो देश त्यसै टाट पल्टेको होइन । म प्रचण्डलाई राम्ररी चिन्दछु । तपाईँ सरेन्डर गर्नुस्, जनताकहाँ आउनुस् ।’
उनले एमाले अध्यक्ष केपी ओलीको पनि कडा आलोचना गरे । एमालेले युवा संघलाई प्रयोग गरेर आन्दोलनमा आएकाहरूलाई मध्यरातमा बलात्कारको प्रयास गरेको संगीन आरोप समेत प्रसाईँले लगाए । उनले ‘यही काण्ड राधिका शाक्यलाई परेको भए के गर्नुहुन्थ्यो हजुरबुबा ?’ भन्दै कटाक्ष समेत गरे ।
उनले नेपालमा विद्रोहको विरुवा रोपिएको र नेताहरूलाई जहाँ भेट्यो त्यही ठेगान लगाउनेसम्मको अराजक अभिव्यक्ति दिए । प्रसाईँले बोल्दा आन्दोलनकारीहरूले चर्को नाराबाजी गर्दै अघि बढ्न थालेपछि माहौल बिग्रिन सुरु भइसकेको थियो । यतिमात्रै नभई उनले सिंहदरबार र संसद् भवनका साथै पुरै काठमाडौँ कब्जा गर्नेसम्मको अभिव्यक्ति दिए । यस्तै प्रसाईँले देश नै ठप्प बनाउनेसम्मको पनि दिन पछि परेनन् । उनले आजदेखि गणतन्त्र सकिएको र जनताको तन्त्र आउने अभिव्यक्ति दिएर माहोललाई थप उत्तेजित बनाउने प्रयास गरेका थिए ।
प्रदर्शनकारीहरुले सिंहदरबार घेर्ने भन्दै प्रहरीको घेरा तोडेर कालीमाटीतर्फ अघि बढ्न खोजेपछि दिउँसो एकाएक झडपको अवस्था निम्तिएको प्रत्यक्षदर्शीले बताए । प्रहरीलाई प्रदर्शनकारीले ढुङ्गा प्रहार गरे भने प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेर अवस्थालाई नियन्त्रण लिने प्रयास गरिरह्यो । यो अवस्था पटक पटक निम्तिँदा अपराह्न सम्म बल्खु क्षेत्र तनावपूर्ण बन्न पुगेको हो । सो क्रममा प्रहरी र प्रदर्शनकारीतर्फ नै केही व्यक्ति घाइते भएको बताइएकाे छ ।






