चितवन,६ मंसिर ।
चितवनकाे भरतपुरमा बोराभित्र पोको पारेको अवस्थामा दुइटा शव फेला परेको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर ९ मिलनचोकस्थित कल्भर्टमा बोराभित्र पोको पारेको अवस्थामा शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार बुधबार दिउँसो शव फेला परेको हो ।
‘अन्दाजी ३० वर्षका पुरूष र महिलाको शव जुटको बोराभित्र फेला परेको छ,’ उनले भने, ‘दुबै जनाको हात-खुट्टा बाँधिएका छन् ।’
उनका अनुसार खोलामा एक व्यक्ति माछा मार्न पुगेका थिए । गन्ध आएपछि ती व्यक्तिले बोरा देखेर शंका लागेपछि प्रहरीलाई खबर गरेको प्रहरी नायव उपरीक्षक पण्डितले बताए ।
प्रहरीले घटनाबारे अनुसन्धान सुरू गरिएको जनाएको छ। शवको सनाखत हुन बाँकी छ।






