काठमाडौं,३ कार्तिक ।
ट्याक्सीमा छुटेको करिब ७ तोला सुन चालकले ट्राफिक प्रहरीलाई बुझाएका छन् ।
काठमाडौंकाे जडिबुटीबाट जोरपाटीस्थित जम्मुडाँडासम्म जानेक्रममा शनिबार दिउँसो ट्याक्सीमा छुटेका सुनचाँदीका गहना खोजी गरेर ट्राफिक प्रहरीले धनीलाई बुझाएको हो ।
ट्याक्सीमा छुटेका सुनचाँदीका गरगहना सहितको झोला खोजी गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको खोजतलास शाखाका प्रहरी निरीक्षक विशाल सिंहले आइतबार धनीलाई हस्तान्तरण गरेका हुन् ।
जडिबुटीबाट जोरपाटी जम्मुडाँडासम्म जाने क्रममा बा २ ज ३४५३ नम्बरको ट्याक्सीमा करिब ७ तोला बराबरको सुन र ४ तोलाका चाँदीका गहना भएको झोला छुटेको भनी रामेछापकी संगिता तामाङले ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा खबर गरेकी थिइन् ।
उक्त खबरको आधारमा प्रहरीले सिसिटिभी क्यामेराको सहयोगमा चालकको खोजी गरिरहेको थियो । त्यसक्रममा ट्याक्सी चालक रोशन बयलकोटी आफैंले आइतबार बिहान प्रहरी वृत्त गौशालामा उक्त गहना बुझाउन पुगेका थिए ।
त्यसपछि ट्राफिक प्रहरीले सुन धनीलाई बोलाएर उक्त सुन बुझाएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको खोजतलास शाखाले सवारी साधनमा छुटेको धनमाल प्राप्त निवेदनका आधारमा खोजी गरेर धनीलाई बुझाउँदै आएको छ ।
गत साउनदेखि हालसम्म १ सय ३३ जना व्यक्तिले दिएको निवेदनको आधारमा ९९ जनाको धनमाल खोजी गरी ४० लाख ६ हजार ६ सय २५ मुल्य बराबरको सामान सम्बन्धित धनिलाई बुझाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
आफ्नो धनमालको सुरक्षा गर्न र सवारी साधनमा सामान छुटेमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न तथा नजिकैको प्रहरी कार्यालयमा लिखित निवेदन बुझाउन पनि एसएसपी भट्टले आग्रह समेत ग्रेका छन् ।






