काठमाडौं,३ मंसिर ।
नेपाल दूरसञ्चार प्राधिकरणले अझैपनि टिकटकमा पहुँच पुगिरहेको भए त्यसबारे जानकारी गराउन अनुरोध गरेको छ ।
प्राधिकरणले आइतबार सूचना प्रकाशित गर्दै टिकटक प्रयोगमा रोक लगाउन सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन दिइसकेको अवस्थामा अझै पनि कुनै इन्टरनेट र मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कबाट टिकटक चलिरहेको भए खबर गर्न आग्रह गरेको हो ।
प्राधिकरणको इमेल ठेगानामा इमेल गरी त्यस्ता कम्पनीका बारेमा जानकारी गराउन इन्टरनेट सेवाग्राहीलाई दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०८०/०७/२७ गतेको बैठकले सामाजिक संजालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सदभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको निष्कर्ष निकाल्दै नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय गरेको थियो।






