काठमाडौं, ३० कार्तिक ।
तिहारमा जुवा खेलेको आरोपमा काठमाडौ उपत्यकाबाट १६५ जना पक्राउ परेका छन् । यही कार्तिक ११ गतेदेखि कार्तिक ३० गतेसम्मको अवधिमा जुवा तास खेलिरहेको अवस्थामा उनिहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

तास र लंगरबुर्जा खेलेको आरोपमा काठमाडौंका १२ स्थान, ललितपुरबाट २ स्थान र भक्तपुरबाट दुई स्थानमा प्रहरीले छापा मारेको थियो ।

जहाँबाट १३३ जनालाई पक्राउ गरी २१ लाख ७१ हजार ३३५ रुपैयाँ नगद, २० हजारको चेक र ६९ बुक तास बरामद गरेको छ ।

त्यसैगरी कौडा खेलेको आरोपमा प्रहरीले ३२ जनालाई पक्राउ गरेको छ । उनीहरूबाट १२ लाख ९१ हजार ५५० रुपैयाँ बरामद गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।

यसैगरी पटाकाहरू पनि प्रहरीले बरामद गरेको छ। पटाकासहित प्रहरीले ८ जनालाई नियन्त्रणमा समेत लिएको छ ।

त्यसैगरी आगलागीका १४ वटा घटनाहरू भएकाे प्रहरीले जनाएको छ ।

काठमाडौंमा आठ स्थान, ललितपुरमा ४ स्‍थान र भक्तपुरमा दुई स्थानमा आगलागी भएको थियो ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीमा लक्ष्मीपूजा गर्नेक्रममा दियोबाट सल्किएर आगलागी हुँदा ८२ वर्षीया वृद्धाको मृत्यु भएको थियो ।

आगलागीबाट समग्रमा आठ करोड ७७ लाख ४५ हजार रुपैयाँ बराबरको क्षति भएको एसएसपी मैनालीले बताए ।

उनका अनुसार कात्तिक ११ गतेयता सवारी दुर्घटनामा ७ जनाले ज्‍यान गुमाएका छन् । काठमाडौंमा दुर्घटना हुँदा दुई जनाको, ललितपुरमा ४ जना र भक्तपुरमा एक जनाको मृत्यु भएको छ। यसमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

यस्तै उपत्यकामा ३७ ठाउँमा चोरी भएको छ । जसमा संलग्न ७ जनामात्रै पक्राउ परेका छन् । काठमाडौंमा २७ लाख ७९ हजार ४४५ रुपैयाँ बराबरको, ललितपुरमा २५ लाख ३० हजार ७५० र भक्तपुरमा ५० लाख ५६ हजार बराबरको चोरी भएका छन् ।

काठमाडौंमा पाँच ठाउँमा लुटपाट पनि भएका छन् । जसमा संलग्न तीन जना पक्राउ परेका छन् । यी आपराधिक घटनामा संलग्न आरोपीहरूमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

तिहारको समयमा काठमाडौ उपत्यकामा आपराधिक घटनाहरू सामान्य रहेको प्रहरीको प्रारम्भिक विश्लेषण ।

प्रभावकारी रूपमा प्रहरी परिचालन र प्रविधि समेतको प्रयोगले धेरै घटना नभएको उनले बताए ।