काठमाडौँ,२७ कार्तिक ।
सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेसँगै त्यसको पक्ष र बिपक्षमा प्रतिक्रिया आउन सुरु भएको छ ।
सत्ता पक्षकै कतिपय नेताहरू समेत सरकारको उक्त निर्णयकाे बिपक्षमा उभिएका छन् भने केहीले उक्त कदम ठिक भएको प्रतिक्रिया दिएका छन् ।
सामाजिक सद्भाव र व्यक्तिगत धृणा फैलाउने माध्यमको रुपमा दुरुपयोग हुन थालेकाे भन्दै सरकारले समाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । नेपालीहरुमाझ पनि चर्चित बन्दै गएको टिकटकका कारण साइबर अपराधका घटनाहरु बढेपछि यसलाई नियमन गर्नेबारे बहस चलेको थियो ।
अघिल्लो साता गृहमन्त्रालयले साइबर ब्युरो, गृह मन्त्रालय र टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिबीच यसको नियमनकाबारेमा छलफल गरेको थियो ।
उक्त छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ र प्रमुख विपक्षी दलका नेताहरूसँग समेत सामाजिक सञ्जाल नियमनको विषयमा छलफल गरेका थिए । छलफलमा सत्तासाझेदार मुख्य दल कांग्रेसका सभापति शेरबहादुर देउवादेखि प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसम्मले टिकटकले ल्याएको विकृतिबारे बैठकमै छलफल गरेका थिए ।
प्रधानमन्त्रीले सामाजिक सञ्जाल प्रयोगसम्बन्धि निर्देशिका जारी गर्नलाई सहज होस् भन्ने उद्देश्यले बैठक राखेका थिए । उक्त बैठकमा सबै दलका नेताहरुले कुनै न कुनै रुपमा विकृति फैलाइरहेका माध्यमहरुलाई नियमन जरुरी रहेको भन्ने साझा अभिव्यक्ति पाएपछि सरकारले सोमबारको बैठकबाट टिकटकलाई बन्द गर्ने निर्णय गरेको हो ।
टिकटक बन्द गर्ने सरकारको निर्णयलाई लिएर तत्काल दुईथरी प्रतिक्रिया आएका छन् । यो निर्णयलाई लिएर समाजिक सञ्जालहरुमै पनि फरक फरक मतहरु प्रकट भएका छन् । कांग्रेस महामन्त्री गगन थापाले बन्द नै गर्ने चाहिँ सरकारको उल्टो बाटो भएको प्रतिक्रिया दिएका छन्। केहीले यो निर्णय ठीक भएको पनि बताएका छन् । बन्द गर्ने कुरा ठीक नभएको भन्नेहरुले अभिव्यक्ति स्तवन्त्रताको अधिकारप्रति इंगित गरेका छन् । तर अभिव्यक्ति स्वतन्त्रता प्रयोग अराजकताको हदमा नहुने सरकारको धारणा छ ।
सञ्चारमन्त्री रेखा शर्माका अनुसार अभिव्यक्ति स्वतन्त्रता आधारभूत अधिकार भए पनि जसले जसलाई जे बोले पनि हुने प्रवृत्ति बढेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको हो ।
पछिल्लो ४ वर्ष ३ महिनाभित्रमा नेपाल प्रहरीमा १ हजार ६ सय ४८ वटा साइबर अपराधका उजुरी दर्ता भएकोमा अधिकांश टिकटकसँग सम्बन्धित भएको तथ्यांक छ ।
फेक एकाउन्ट खोलेर जसले जसलाई जे पनि गर्न सक्ने र बदनाम गराउने सामग्रीलाई स्वतः हटाउने कुनै संयन्त्र टिकटकमा छैन । टिकटकले प्रयोगकर्ताको रुचिअनुसारका अन्तहीन भिडियोहरू मोबाइलका स्क्रिनमा आउने गरी एलगोरिदम सेट गरेको हुनाले घण्टौंसम्म यसलाई चलाउने लतमा संसारभर रहेको अनुसन्धानले देखाएका छन् । जसले आम रूपमा अनिद्रा, एन्जाइटी, डिप्रेसनजस्ता मानसिक रोगको प्रकोप नै निम्त्याएको मनोविद्हरू बताउँछन् ।
नेपालमा सोमबार जे कारणले टिकटक बन्द गर्ने निर्णय गरियो अन्य मुलुकहरुमा पनि यो नौलो होइन् । विश्वभर नै चर्चित बनेको यो सामाजिक सञ्जाल आंशिक र पूर्णरुपमा बन्द गर्ने अन्य ठूल्ठूला मुलुकहरु पनि छन् । छिमेकी भारत, अफगानिस्तानलगायत देशले टिकटकलाई प्रतिबन्ध नै लगाएका छन् । अभिव्यक्ति स्वतन्त्राका धुरन्धर पक्षधर धेरै ठूला लोकतान्त्रिक मुलुकहरु अमेरिका, फ्रान्स, क्यानडा, बेलायतले जस्ताले पनि यसको टिकटक निर्वाध प्रयोगमामा रोक लगाएका छन् । केही मुलुकहरुले सरकारको गोपनीयता भंग हुने, राष्ट्रिय सुरक्षा र डाटा सुरक्षाको चिन्ताले बन्द गराएका छन् ।
अमेरिकालगायत पश्चिमा देशहरू टिकटकमार्फत चिनियाँ सरकारले संवेदनशील जानकारीमा पहुँच प्राप्त गरेकामा चिन्तित छन् ।
अमेरिकाले आफ्ना टिकटक प्रयोगकर्ता नागरिकको विवरण देशबाहिर लैजान प्रतिबन्ध लगाएपछि टिकटकले हालै त्यहाँ स्थानीय साइबर बनाएको छ ।






