बुटवल,२१ कार्तिक ।
रूपन्देहीको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेज तथा शिक्षण अस्पतालकी प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकलाई पदमुक्त गर्ने सहमति भएपछि एक महिनादेखि जारी विद्यार्थीको आन्दोलन फिर्ता भएको छ ।

ड्रेस कोडमा असहमति जनाउँदै सुरु भएको आन्दोलन चर्किदै जादा प्रिन्सिपलको राजीनामासम्म पुगेको थियो । असोज २२ गतेबाट सुरु भएको आन्दोलनका कारण कलेजमा पढाइ र अस्पतालमा उपचार सेवा प्रभावित भएको थियो ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत मोहनकुमार पिएसले विज्ञप्ति जारी गर्दै आन्दोलनरत विद्यार्थीसँग सहमति भई विद्यार्थीका माग सम्बोधन गरिएकाले आजदेखि कलेजको पठन पाठन र उपचार सेवा सुरु हुने जानकारी गराएका छन् ।

आन्दोलनरत विद्यार्थीले प्रमुख कार्यकारी अधिकृत कक्ष, प्राचार्य कक्ष, सह-प्राचार्य कक्ष, मेडिकल सुपरिटेन्डेन्ट कक्ष, इन्टर्नसिप संयोजक कक्ष, लेखा शाखा तथा मानव संशाधन शाखामा तालाबन्दी गरेका थिए ।

विद्यार्थीहरुले प्रिन्सिपल पाठकलाई पाँच दिनसम्म बन्धकसमेत बनाएका थिए । पछि प्रशासनले प्रिन्सिपल पाठकलाई उद्धार गरेको थियो । प्रिन्सिपल पाठकले भने राजीनामा नदिने अडान लिंदै आएकी थिइन् । जसले गर्दा आन्दोलन एक महिनासम्म लम्बिएको थियो ।

नयाँ ड्रेस कोड लागू नगरी पहिलेको जस्तै यथावत राख्नुपर्ने मागमा स्थानीय प्रशासनको अगुवाइमा असोज २७ गते बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा ड्रेस कोडको निर्णय हाललाई स्थगन गर्ने लिखित सम्झौता भएको छ । तर, विद्यार्थीहरुले प्रिन्सिपलको राजीनामालाई बटमलाइन बनाएर आन्दोलन जारी राखेका थिए ।

विद्यार्थीहरु प्रिन्सिपलले राजीनामा दिनुपर्ने, नयाँ ड्रेसकोड लागु नगरी पहिलेको जस्तै यथावत राख्नुपर्ने, इन्टर्नसीपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन प्रतिबन्ध लगाइएका विद्यार्थीहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्ने लगायतका माग गर्दै आन्दोलन गर्दै आएका थिए ।