काठमाडौ,२० कार्तिक ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै लगानीका लागि आह्वान गरेका छन् । अहिले मुलुकको अर्थतन्त्र सुदृढ बन्दै गएको र लगानीको उचित अवसर सिर्जना भएको उनलेे बताए ।

एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआई) को संयुक्त आयोजनामा दुई दिनसम्म चल्ने ३७ औं क्यासी सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले भूकम्प र कोरोना महामारीबाट उठ्दै गरेको नेपाललाई यस किसिमको भेलाले सहयोग पुग्ने विस्वास ब्यक्त गरे ।

नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई निजी क्षेत्रका छाता संगठनले समेत सहयोग गर्ने भएकाले ढुक्कले लगानी गर्न सम्मेलनमा उपस्थित दुई दर्जन बढी देशका व्यवसायीलाई डा. महतले आग्रह गरे ।

नेपालमा व्यावसायिक अवसर धेरै भएको भन्दै विदेशी लगानीकर्ताले प्रतिफल प्राप्त गर्न सक्ने उनले बताए ।

उनले भारतले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रतिबद्धता गरेको भन्दै लगानीका लागि जलविद्युत् उपयुक्त क्षेत्र भएको बताए ।

बंगलादेशले पनि विद्युत् खरिद गर्न चासो देखाइरहेको अवस्थामा जलविद्युतमा गरिने लगानीमा प्रतिफल सुनिश्चित गरेको महतले बताए ।

यस्तै सूचना र प्रविधि क्षेत्रमा समेत सरकारले लगानीको सम्भावना देखेको बताउँदै उनले यही सम्भावना देखेर चालु वर्षको बजेटमार्फत सूचना प्रविधि क्षेत्रमा आयकर घटाएको उल्लेख गरे ।

सफ्टवेयर निर्यात गर्दा बजेटमार्फत आम्दानीमा लाग्ने करमा ५० प्रतिशत छुटको सुविधा दिइएको अर्थमन्त्री महतले जानकारी गराए ।

नेपालमा लगानी गर्नलाई ‘वान डोर विन्डो’ सञ्चालनमा रहेको र ठूला लगानीलाई सहयोग गर्न लगानी बोर्ड नै सञ्चालनमा रहेको महतले बताए ।

नेपालमा लगानीका लागि थप वातावरण र कन्फिडेन्स सिर्जना गर्न आगामी फेब्रुअरीमा लगानी सम्मेलन गर्ने तयारी भैरहेको भन्दै उनलेे विश्व बैंक र एडीबीले नेपालका दुई जलविद्युत् आयोजनामा लगानीको तयारी गरिरहेकाे उल्लेख गरे । यसबाट नेपाल लगानीको केन्द्र रहेको पुष्टि हुने उल्लेख गर्दै उनलेे ग्रीन बन्डलगायतमा फाइनान्सिङ औजारहरुमा समेत लगानी गर्न मिल्ने गरि नेपाल सरकार अघि बढेको जानकारी गराए ।