डाेटी,१९ कार्तिक ।
डोटीको शिखर नगरपालिका–६ मा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका–५ का २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, धनशोभाका ६ वर्षीय छोरा कविन्द्र र विमला मलालकी ८ महिनाकी छोरी प्रार्थना रहेका छन् ।

घाइतेहरुको डोटीकाे दिपायल स्थित शैलेश्वरी अस्पताल पिपल्लामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

गएराति कैलालीको धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको जीप के आईसिंह राजमार्ग अन्तर्गतको अडेउल भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार गएराति २ बजे दुर्घटनामा भएको हो । चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।