रामेछाप,१७ कार्तिक ।
रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट भएको छ ।
काठमाडौँ–लुक्ला ट्रान्जिटको रूपमा रहेको मन्थली विमानस्थलमा बिहान तारा एयरका दुई पाइलट सञ्जीव श्रेष्ठ र सन्तोष शाहबीच कुटाकुट भएको हो ।
शुक्रवार बिहान काठमाडौँबाट लुक्लाका लागि नम्बर १११ मा गएका पाइलट शाह र मन्थली क्याम्पमा नै रहेका पाइलट श्रेष्ठबीच कुटाकुटको स्थिति बनेको तारा एयरले जनाएको छ । तथापि, यो घटनामा कम्पनी वा फ्लाइटको कुनै सम्बन्ध नभएको जिकिर गर्दै कम्पनीले दुई पाइलटहरूकै व्यक्तिगत रिसिबीका कारण घटना भएको जनाएको छ । घटनामा संलग्न दुई जना पाइलटलाई कम्पनीले निलम्बन गरिसकेको छ ।
‘दुई पाइलटबिच व्यक्तिगत रिसिबीका कारण सामान्य भनाभनको स्थिति बनेको रहेछ । यत्तिकैमा एक पाइलटले धकेल्दा अर्का पाइलट लड्नु भएछ । युनिफर्ममा नै लडेकाले घटनाले ठुलो रूप लियो । यसो भएपछि हवाई सुरक्षालाई मध्यनजर गर्दै कम्पनीले अन्द स्पाेर्ट दुवै जनालाई त्यहीँ सस्पेन (निलम्बन) गर्यौँ’ तारा एयर होल्डिङ कम्पनी यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्ताैलाले रातोपाटीसँग भने ।
घटनामा संलग्न पाइलटहरूमाथि छानबिन गर्न आन्तरिक छानबिन समिति समेत बनिसकेको बताउँदै बर्तौलाले पाइलटहरूको स्पष्टीकरण लिइरहेको जानकारी दिए । घटनालगत्तै कम्पनीले अर्को पाइलटमार्फत मन्थली–काठमाडौँ जहाज उडान भरेको छ । नागरिक उड्डयन प्राधिकरणले पनि घटनामा संलग्न पाइलटहरूलाई निलम्बन गरेको छ ।









