काठमाडौँ,१६ कार्तिक ।
सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) लाई पक्राउ गर्न आदेश दिएको छ । योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय बदर गर्दै सर्वोच्चले भारती शेर्पाको पक्षमा फैसला सुनाएको हो ।
नेपालगञ्जका चेतन मानन्धरको हत्यारा रिगललाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएपनि सर्वोच्चले त्यसलाई बदर गरेको हो ।
बिहीबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै उनलाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश समेत दिएको छ ।
संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको उक्त सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए ।
ढकालले हत्या गरेका चेतन मानन्धरकी पत्नी शेर्पाले सरकारी निर्णविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।






