काठमाडौँ,१५ कार्तिक ।
राष्ट्रपति रामचन्द्र पौडेलले आरोहणका लागि खुला नगरिएका हिमाल आरोहणका लागि सरकारले अनुमति दिनुपर्ने बताएका छन् ।
बुधबार नेपाल पर्वतारोहण संघकाे ५० औँ वार्षिकोत्सवमा बुधबार आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले पर्वतीय पर्यटन विकास र प्रवर्द्धनका लागि थप हिमाल आरोहणका लागि अनुमति दिन सरकारलाई सुझाव दिएका हुन् । उनले पर्वतीय पर्यटन क्षेत्रमा लागि थप काम गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सुझाव दिए ।
‘नेपालमा अनगिन्ती हिमाल छन्, जुन औपचारिक रुपमा आरोहणका लागि खुला गरिएको छैन । ती हिमालको आरोहणका अनुमति दिन र प्रवर्द्धन गर्न तत्काल पहल लिन जरुरी छ’, राष्ट्रपति पौडेलले भने, ‘म नेपाल सरकारलाई ती हिमालको व्यवस्थापन र प्रवर्द्धनको जिम्मेवारीका लागि उपयुक्त निर्णय लिन पनि सुझाव दिन चाहन्छु ।’
यस कार्यका लागि नेपाल पर्वतारोहण संघ साझेदार हुन सक्ने राष्ट्रपति पौडेलको भनाइ छ । उनलेे नेपाल सरकारले २७ वटा हिमालको आरोहण अनुमति व्यवस्थापन गर्ने दिएको जिम्मेवारी संघले सफलतापूर्वक पूरा गरेको उल्लेख गरे ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोरियो गुटेरेसले नेपाल भ्रमणका क्रममा जलवायु परिवर्तनका कारण नेपालमा परेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाएको स्मरण गर्दै राष्ट्रपति पौडेलले जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा परेको असर न्यूनीकरणका लागि गम्भीरतापूर्वक काम गर्न आवश्यक भएको बताए ।






