काठमाडौँ,१४ कार्तिक ।
नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतविरुद्ध प्रहरीमा उजुरी परेका छ । पत्रकारलाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध उजुरी परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले जानकारी दिए ।
बेल्जियममा बसेर पत्रकारिता गर्दै आएका ओम शर्माले बस्नेतविरुद्ध प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।
शर्मा नेतृत्वको टोली मंगलबार एनआरएनएको कार्यालयमा पुग्दा एमाले नेता महेश बस्नेत र युवा संघको टोली त्यहाँ थियो ।
बस्नेतको टोली अध्यक्ष बद्री केसीलाई शुभकामना दिन त्यहाँ पुगेको थियो । त्यसक्रममा शर्मासहितका व्यक्तिहरुले तस्वीर खिचेका थिए ।
त्यसक्रममा आरके शर्मासहित बेल्जियमका अभियन्ता एवं पत्रकार ओम शर्मामाथि कुटपिट भएको जानकारी आफूहरुले पाएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए ।
घटनामा शर्माको मुखमा चोट लागेको छ । एनआरएनएको अध्यक्षमा ३ कात्तिकमा बद्री केसी निर्वाचित भएका थिए । तर, विद्युतीय मतदानमा धाँधली भएको भन्दै प्रत्यासी आरके शर्माले समानान्तर कमिटी गठन गरेका छन् ।
काठमाडौं प्रहरी प्रमुख खत्रीका अनुसार, उजुरी आएपछि प्रहरीले कार्यालयको क्लोज सर्किट (सीसी) क्यामरा हेर्ने तयारी गरेको छ । उनले भने, ‘सीसी टीभी लगायत हेरेर अनुसन्धान गर्छौं ।’






