काठमाडौं,१४ कार्तिक ।
सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा फैलाउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमा आक्रामक अभिव्यक्ति दिएर चर्चामा आउने गरेका झापाका खनाललाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो ।

ब्यूरोका उपनिर्देशक पशुपतिकुमार रायका अनुसार, सेनाले दिएको सूचनाको आधारमा अनुसन्धान गरेर उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धान गर्न पक्राउ गरिएको हो ।

उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंले अनुमतिसमेत दिइसकेको प्रहरीले जनाएको छ ।
खनालले सेनाको विषयमा के अभिव्यक्ति दिएका थिए भन्ने विषय भने सार्वजनिक गरिएको छैन ।