काठमाण्डाै,११ कार्तिक ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाले न्युजिल्यान्डमाथि राेमाञ्चक जित निकालेकाे छ । अस्ट्रेलियाले न्युजिल्यान्डलाई ५ रनले हराएकाे हो ।
शनिबार भारतको धर्मशालामा अष्ट्रेलियाले दिएको ३८९ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले रचिन रवीन्द्रको शतकको मद्दतमा ५० ओभरमा ९ विकेट गुमाएर ३८३ रन मात्र बनाउन सक्यो ।
न्युजिल्यान्डका रचिन रविन्द्रले शतक बनाए । उनी ८९ बलमा १ सय १६ रन बनाएर आउट भए । यस्तै जेम्स नीशमले ५८ र ड्यारेल मिचेलले ५४ रन जाेडे । बलिङतर्फ अस्ट्रेलियाका एडम जम्पाले ३ तथा जाेश हेजलवूड र कप्तान प्याट कमिन्सले समान २ विकेट लिए ।
यसअघि धर्मशालामा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे अस्ट्रेलिया ४९ ओभर २ बलमा ३ सय ८८ रनमा अलआउट भयाे । अस्ट्रेलियाका ट्राभिस हेडले विश्वकपकाे डेब्युमा शतक बनाए । उनी ६७ बलमा १ सय ९ रन बनाएर आउट भए । यस्तै डेभिड वार्नरले ८१, ग्लेन म्याक्सवेलले ४१, जाेश इङ्लिसले ३८ र कप्तान प्याट कमिन्सले ३७ रन जाेडे । बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बाेल्ट र ग्लेन फिलिप्सले समान ३ तथा मिचेल स्यान्टनरले २ विकेट लिए ।
याे जितसँगै अस्ट्रेलियाले ६ खेलमा ८ अङ्क जाेडेकाे छ । अस्ट्रेलिया तालिकाकाे चाैथाे स्थानमा छ भने न्युजिल्यान्ड उति नै खेलमा ८ अङ्कसहित नेट रनरेटकाे आधारमा तेस्राे स्थानमा रहेको छ ।






