काठमाण्डाै,११ कार्तिक ।
आज देशका पहाडी भूभागका केही ठाउँमा वर्षा र हिमाली भूभागमा सामान्य हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

अहिले नेपालको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । पश्चिमी भूभागमा रहेको पश्चिमी वायुको आंशिक प्रभावको कारण पहाडी भूभागमा केही ठाउँमा बादल लागेको मौसम पूर्वानुमान् महाशाखाकाे भनाइ छ ।

आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागका एक/दुई ठाउँमा मेघ गर्जन/चट्याङसहित सामान्य वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा सामान्य हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । आउँदो तीन दिनसम्म नै मौसम सामान्यतया सफा रहने महाशाखाकाे पुर्वानुमान छ ।